कैलाली- प्रदेश नम्बर ७ का आर्थिक मामिला मन्त्री झपटबहादुर बोहराले प्रदेश सरकारले २६ अर्बसम्मको बजेट ल्याउन लागेको बताएका छन्।
नेपाल आर्थिक पत्रकार 8 (सेजन) र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडिपी)को सहकार्यमा धनगढीमा आयोजित तालिम कार्यक्रममा बोल्दै मन्त्री बोहोराले संघीय सरकारले उपलब्ध गराएको २१ अर्ब बराबरको अनुदान र प्रदेश सरकारले विभिन्न क्षेत्रबाट उठाउनेगरी बजेट निर्माण गरिरहेको बताए।
पूर्वाधार, जलविद्युत्, उद्योग, कृषि लगायतलाई प्राथमिकतामा राखेर बजेट निर्माण गरिरहेको बताउँदै मन्त्री बोहराले लगानी आकर्षित गर्न कर छुट दिन लागिएको जानकारी दिए।
मन्त्री बोहराले ‘कर’ करले भन्दा पनि रहरले तिर्ने वातावरणको सिर्जना गर्ने बताए।
'करले होइन, रहरले तिराउने हो कर। मेरो राज्य र सरकार हो भन्ने हेतुले करमैत्री वातावरण बनाउँछौं। करको दायरा होइन, करका नयाँ क्षेत्रको पहिचान गर्छौं’, उनले भने।
संघीयता कार्यान्वयनको चरणमा बजेट आउन लागेको भन्दै मन्त्री बोहराले विकास र समृद्धिको आधार वर्षका रुपमा बजेटको कार्यान्वयन हुने बताए।
कार्यक्रममा प्रदेश ७ का सभामुख अर्जुनबहादुर थापाले अब राजनीतिकभन्दा आर्थिक क्रान्तिको अभियानमा अगाडि बढ्नुपर्ने बताए।
यस्तै, युनडिपीकी आवासीय उपनिर्देशक सोफी केमखाडेले दिगो विकासको लक्ष्य कार्यान्वयनका लागि सरकार, नागरिक 8 र पत्रकारको भूमिका महत्वपूर्ण रहेको बताइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।