वीरगञ्ज- छिपहर माई गाउँपालिका वडा नं ५ ले वडा सरसफाइसम्बन्धी १३ बुँदे आचारसंहिता जारी गर्दै खुला ठाउँमा दिसा गरेको सूचना दिने व्यक्तिलाई रु २५० पुरस्कार दिने घोषणा गरेको छ। सो आचारसंहिताको बुँदा नं ४ मा कुनै व्यक्तिले खुला ठाउँमा दिसा गरेको पाइएमा रु ५०० जरिवाना गरिने र सूचना दिने व्यक्तिलाई सो जरिवानाबाट रु २५० पुरस्कार दिने उल्लेख छ।
‘एक घर एक चर्पी, भिस्वावासीको शान, स्वच्छ जीवन वातावरण हामी सबैको स्वाभिमान’ भन्ने नारासहित छिपहरमाई गाउँपालिका वडा नं ५ ले जारी गरेको १३ बुँदे सरसफाइसम्बन्धी आचारसंहिता जारी गरेको हो। सधैं चर्पीमा दिसापिसाब गर्नेछु, बाहिर खुल्ला ठाउँमा दिसापिसाब गर्ने छैन, घरको चर्पीलाई नियमित सफाइ गर्नेछु, वडाभित्रका सबै विद्यालय घर कार्यालयमा चर्पी राख्नेछु, वडालाई दिसामुक्त क्षेत्र कायम गरी पूर्ण सफाइ गर्नेजस्ता प्रतिबद्धतासहित सो आचारसंहिता जारी गरिएको हो।
६ सय ७२ घरधुरी तथा करीब १० हजार जनसंख्या रहेको सो वडालाई पूर्ण सरसफाइका लागि वार्षिक बजेट विनियोजन गर्नुका साथै खुला दिसामुक्त कार्यक्रमका लागि प्रभावकारीरुपमा अगाडि बढाइने गाउँपालिकाका प्रमुख मनोजकुमार गुप्ताले बताए।
उक्त गाउँपालिका वडा नं ५ भिस्वागाउँ पर्सा जिल्लाको ४९औँ खुला दिसामुक्त क्षेत्र तथा पूर्ण खोप घोषणा गरिएको छ। हालसम्म जिल्लाको पाँच वटा स्थानीय तह खुला दिसामुक्त क्षेत्र घोषणा भइसकेका छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।