सिंगापुर– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली प्रमुख नेता किम जोङ उनबीच ऐतिहासिक भेटवार्ता भएको छ। सिंगापुरको सेन्तोसा द्विपको सुविधासम्पन्न पाँचतारे होटल कापेलामा दुई नेताबीच भेटवार्ता भएको हो।
अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका अनुसार दुई नेताबीच ३८ मिनेट लामो भेट भएको छ। भेटपश्चात् बाहिरिने क्रममा उत्तर कोरियाली प्रमुख नेता किमले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अंग्रेजीमा भने,‘नाइस टु मिट यु, मिस्टर प्रेस्टिडेन्ट।’
कुनैपनि अमेरिकी राष्ट्रपतिले पहिलो पटक उत्तर कोरियका प्रमुख नेतालाई भेट गरेका हुन्।
कुराकानीपश्चात् बाहिरिने क्रममा होटलको ‘करिडोर’मा पत्रकारहरुले नेता किमलाई ‘के तपाईं परमाणु निशस्त्रीकरणका लागि तयार हुनुहुन्छ?’ भनेर सोधेका थिए। अर्का पत्रकारले पुनः ‘मिस्टर किम, के तपाईं आफ्ना सबै परमाणु हतियार नष्ट गर्र्नुहुन्छ? भनी सोधेपनि नेता किमले कुनै जवाफ फर्काएनन्। तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पत्रकारहरुलाई भने,‘सबै चिज निकै राम्रो ढंगबाट अगाडी बढिरहेको छ।’
‘वान टु वान’ वार्तामा बस्नुअघि दुवै देशका उच्च स्तरीय प्रतिनिधिमण्डलका बीचमा वार्ता भएको थियो। सो क्रममा किम र ट्रम्पका अलावा अमेरिकाका तर्फबाट विदेश मन्त्री माइक पोम्पेओ, राष्ट्रपति ट्रम्पका स्वकिय सचिव जोन केलीलगायतको उपस्थिती थियो। उत्तरका तर्फबाट वर्कर्स पार्टीका उपाध्यक्षद्वय किम योङ चोल र रि सु योङ तथा विदेश मन्त्री रि योङ होलगायतको उपस्थिती रहेको थियो।
भेटवार्तापछि दुवै नेताहरुले आफ्ना वरिष्ठ सल्लाहकार तथा सहयोगी समूहकाबीचमा छलफल गरेका थिए।
होटल कापेलामा दुवै नेताले खाना पनि खाइसकेको बताइएको छ। उनीहरुका लागि सिंगापुरको राजकीय खानाको व्यवस्था गरिएको थियो।
दुई राष्ट्रप्रमुखले खानासत्रपछि संयुक्त पत्रकार सम्मेलन गर्नेछन्। बहुप्रतिक्षित वार्तापछि दुवै देशका बीचमा के सहमती हुन्छ भन्ने विषयलाई विश्वभर चासोका साथ हेरिएको छ।
यसअघि आज बिहान स्थानीय समयानुसार ९ बजे दुवै नेताले हात मिलाएर पहिलो भेट गरेका थिए। शिखर वार्ताअघि सेन्तोसा द्विपको सुविधासम्पन्न पाँचतारे होटल कापेलामा उनीहरुले हात मिलाएका थिए। दुवै राष्ट्रका झण्डा टाँगिएको स्थानमा हात मिलाएपछि किम र ट्रम्प होटलको पुस्तकालयमा बसेर केहीबेर भलाकुसारी गरेका थिए। नेता किमले अंग्रेजी भाषा कम मात्रै बुझ्ने भएकोले दुवै नेताका बीचमा लामो भलाकुसारी भने भएको थिएन। भेटका क्रममा दुवै नेता हर्षित मुद्रामा देखिन्थे।
शिखर वार्ताले उत्तर कोरियाको आणविक कार्यक्रम तथा क्षेप्यास्त्र परिक्षणलाई समाप्त गर्न निश्चित प्रक्रियाको सुरुवात गर्नेमा अमेरिका आशावादी रहेको छ।
पछिल्लो १८ महिनादेखि रहँदै आएको तनाव तथा आरोप–प्रत्यारोपलाई पन्छ्याउँदै दुवै नेता ऐतिहासिक भेटवार्ताका लागि आमने–सामने भएका हुन्।
राष्ट्रपति ट्रम्प आजै अमेरिका फर्किने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।