काठमाडौं– गृह मन्त्रालयको विशेष छानबिन समितिले राजेन्द्रकुमार शाक्यद्वारा राजधानीमा सञ्चालित तीन वटा सुन पसलमा छापा हानी सबै सुन तथा गहना जफत गरेको छ। उनको सम्पत्ति छानबिन लागि ती गहना जफत गरिएको हो।
न्यूरोडमा रहेका दुई वटा तथा दरबारमार्गको एक पसलमा समितिले छापा हानेर सबै धनमाल जफत गरेको हो। जफतपछि तीनै वटा पसलमा शिल गरिएको छ।
संगठित अपराध ऐनअनुसार अभियुक्तको सम्पत्ति पनि जफत गर्नुपर्ने भएकाले शाक्यको धनमाल जफत गरिएको छानबिन समितिमा रहेका एसएसपी वसन्त लामाले बताए।
शाक्य लामो समयदेखि सुन तस्करीमा संलग्न व्यक्ति हुन्। उनले पसलमा तस्करीका सुन समेत बिक्री गर्दै आएका थिए। साढे ३३ किलो सुन प्रकरणका अभियुक्त उनी करिब दुई महिनाअघि पक्राउ परेका थिए।
शाक्यका बैंक खाता तथा घरजग्गा यसअघि नै रोक्का भइसकेको छ। जफत गरिएको सुनका गहनाहरु अदालतमा पेश गर्ने समितिको तयारी छ।
सुन तस्करी प्रकरणमा पक्राउ परेका चुडामणि उप्रेती ‘गोरे’, भुजुङ गुरुङ लगायतलाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले काठमाडौं झिकाएर अनुसन्धान अघि बढाएको छ।
सुन तस्करीमा सहयोग गर्ने प्रहरीलाई भ्रष्टाचार र अरुलाई सम्पत्ति शुद्धीकरण मुद्दामा अनुसन्धान भइरहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।