घरजग्गा मेला असार १ देखि

Nepal Live

काठमाडौं- सातौं घरजग्गा मेला असार १ देखि ५ गतेसम्म भृकृटीमण्डपस्थित प्रदर्शनी हलमा हुने भएको छ। नेपाल जग्गा तथा आवास विकास संघले मेला आयोजना गरेको हो। 

मेलामा स्वदेशी तथा विदेशी प्रदर्शकहरुले अवलोकनकर्तालाई घरजग्गा सम्बन्धी आ–आफ्ना सेवा तथा उत्पादनबारे जानकारी दिनेछन्। घरघडेरी तथा संयुक्त आवास आयोजनामा संलग्न व्यवसायी, लगानीकर्ता, उपभोक्ता, निर्माण सामग्री बिक्रेता तथा सेवाप्रदायक संस्थाहरुका लागि सो मेला साझा मञ्च बन्ने आयोजकको अपेक्षा छ।

पाँच दिनसम्म चल्ने मेलामा भूकम्पप्रतिरोधी घर तथा अपार्टमेन्ट जग्गा योजना तथा विकास, निर्माण सामग्रीको उत्पादन तथा बिक्रेता, इञ्जिनियरिङ तथा आर्किटेक्चर कन्सल्ट्यान्टका साथै बैंक र बिमा कम्पनीहरु सहभागी हुने आयोजकको भनाइ छ। 

१ सय ५० वटा स्टल रहने मेलामा विद्युतीय सरसामान, फर्निचर, पाइप, सेनिटरी वेयर्स फिटिङ, पेन्ट्स, सवारीसाधन, सजावटका सामान, बिमा र परामर्श सेवा उपलब्ध गराउने संघले जनाएको छ। 

संघका महासचिव मीनमान श्रेष्ठले मेला लाइसेन्सप्राप्त कम्पनीहरुले निर्माण गरेका घर तथा अपार्टमेन्ट बिक्री गर्ने पहिलो प्लेटफर्म भएको बताए। मेलामा उपभोक्तालाई विशेषज्ञद्वारा सो सम्बन्धी कानुनी, प्राविधिक र वित्तीय परामर्श समेत उपलब्ध गराइने जनाइएको छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार