राजविराज– भारतको बिहार राज्यमा ‘शरावबन्दी’को कानुन लागू भएपछि सीमावर्ती नेपाली भू–भागमा मदिराको बिक्री वितरण तथा अवैध निर्यात बढेको छ।
बिहारमा नितिश कुमार मुख्यमन्त्री भएपछि विधान मण्डलमा पेश भएको ‘बिहार संशोधन विधेयक, २०१६’ सर्वसम्मत पारित भई सन् २०१६ अप्रिल १ देखि ‘शरावबन्दी’ कडाइका साथ लागू भएको छ। बिहारमा मदिरा सेवनले अपराध बढेको र नागरिकले घरपरिवारलाई बेवास्ता गरेको भन्दै सराबवन्दीको कानुन ल्याइएको हो।
कानुन कार्यान्वयनसँगै बिहारमा मदिराको बिक्री वितरण तथा सेवन बर्जित छ। जसका कारण मदिरा सेवनकै लागि नेपालमा भारतीय नागरिकको आवत–जावत बढेको छ। सीमावर्ती क्षेत्रका पसलमा मदिरा सेवन गरी घर फर्कने तथा नेपालमा रहेका आफन्तको घरमा पाहुनाका रुपमा बसेर मदिरा सेवन गर्नेको संख्या पनि बाक्लो छ।
मदिरा सेवनकै लागि भारतीय नागरिकको ओहोर–दोहोर बढेपछि बिहारसँग सीमा जोडिएका सीमावर्ती क्षेत्रमा गैरकानुनी रुपमा मदिराको बिक्री–वितरण र सेवन बढेको स्थानीयहरु बताउँछन्। उनीहरुका अनुसार अधिकांश सीमावर्ती बजारमा मदिराका पसल खुल्ने क्रम पनि बढेको छ।
कतिपय स्थानमा दशगजा क्षेत्रभित्रै पनि मदिराका पसल सञ्चालन भइरहेका छन्। सप्तरीको राजगढ गाउँपालिका अन्तर्गतको बर्दाही तथा झुट्की–वनैनियाँमा दशगजा क्षेत्रभित्रै मदिरा पसल सञ्चालनमा आएको स्थानीयहरु बताउँछन्।
अर्कोतर्फ विभिन्न नाका हुँदै मदिराको अनाधिकृत निकासी बढेको छ। अनाधिकृत निकासीमा नेपाल र भारत दुवै देशका नागरिक संलग्न हुने गरेका छन्। मदिरा निकासीका लागि साइकल र मोटरसाइकको प्रयोग अधिक छ। चारचक्के सवारी साधनमार्फत पनि लुकिचोरी मदिराको निकासी हुने गरेको छ।
सवारी सधानमा प्रहरीको निगरानी बढेपछि पछिल्लो समय गोरु गाडा र घोडाको समेत प्रयोग बढेको छ। प्रहरीको उपस्थिति पातलो हुने स्थानमा घोडाको प्रयोग गरी मदिरा निकासी हुने गरेको छ।
पछिल्लो समय सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिका स्थित गोबरगाढा क्षेत्रलाई नाका बनाएर घोडामा मदिरा निकासी हुने गरेको स्थानीयबासीले जनाएका छन्।
करिब १ दर्जन घोडा मार्फत हरेक बेलुका ७ देखि १२ बजेसम्म मदिरा ओसारपसार हुने गरेको उनीहरुको भनाइ छ।
माओवादी ‘जनयुद्ध’ पछि स्थापना भएको गोबरगाढास्थित प्रहरी चौकी द्वन्द्व बढ्दै गएपछि असुरक्षाका कारण हटाइएको थियो। सो क्षेत्रको सुरक्षा इलाका प्रहरी कार्यालय हनुमाननगरले गर्दै आएको छ। यसैगरी, कोइलाडी बरसाइनमा सशस्त्र प्रहरीको विओपी (वोर्डर आउट पोस्ट) छ भने राष्ट्रिय अनुसन्धान कार्यालयका अनुसन्धान सहायक सूचक पनि यस क्षेत्रमा कार्यरत छन्।
यति हुँदाहुँदै पनि मदिरा तथा भन्सार छलीका गैरकानुनी सामान ओसार–पसारले निरन्तरता पाइरहेको छ। प्रहरीको उपस्थिति कमजोर भएको फाइदा तथा कतिपय प्रहरीलाई मिलाएरै मदिरा तथा अन्य गैरकानुनी सामान आयात–निर्यात भइरहेको स्थानीयहरु बताउँछन्।
यसैगरी, पातो नाका भएर पनि मदिराको ओसार–पसार तीव्र रुपमा बढको छ। भारतीय नम्बर प्लेटका मोटरसाइकलको प्रयोग गरी दैनिक २ सय कार्टुनभन्दा बढी मदिरा निर्यात हुने गरेको त्यस क्षेत्रका बासिन्दाले जानकारी दिए।
सप्तरीबाट दिलवाले, सोफिया, कस्तुरी लगायतका सस्ता मदिरा बढी मात्रामा भारत निकासी हुने गरेको छ। नेपालमा प्रति क्वार्टर ४० रुपैयाँ पर्ने मदिरा भारत पुर्याउने बित्तिकै १ सय भारतीय रुपैयाँमा बिक्री हुने गरेको छ।
सप्तरीबाट गैरकानुनी रुपमा मदिराको ओसार–पसार बढेको विषयमा प्रहरी/प्रशासनलाई जानकारी नै नभएको भने होइन। प्रहरीले बेलाबखत संलग्नहरुलाई पक्राउ पनि गर्ने गरेको छ। तर, तस्करीका रुपमा मौलाएको मदिराको निकासी नियन्त्रण हुन सकेको छैन। मदिराकै कारण सुरक्षामा समेत प्रतिकुल असर पर्ने र त्यसले दुई देशको मित्रतामा समेत खलल पुर्याउन सक्ने जानकारहरु बताउँछन्।
मदिराकै कारण बिहारसँग सम्बन्ध बिग्रने अवस्था : सांसद प्याकुरेल
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का केन्द्रीय सदस्य एवं राष्ट्रियसभाका सांसद सुमनराज प्याकुरेलले मदिराको गैरकानुनी निकासी र प्रयोग तीव्र रुपमा बढेको बताए।
‘मदिराका कारण बिहार सरकारसँग नेपालको सम्बन्ध बिग्रने अवस्था छ,’ प्याकुरेल भन्छन् ‘दैनिक २५ ट्रक मदिरा नेपालबाट भारतको बिहारतर्फ निकासी हुने गरेको जानकारी छ।’ बिहीबार राजविराज आएका प्याकुरेलले बिहारमा मदिरा निषेधले विराटनगर, राजबिराज लगायतका सीमावर्ती बजारमा मदिराको बिक्री वितरण बढेको बताए।
१० दिनभित्र नियन्त्रण हुन्छ : एसपी सिंह
सप्तरीका एसपी मुकेशकुमार सिंहले भने अनाधिकृत मदिरा निकासी र बिक्री वितरणलाई नियन्त्रण गर्न प्रहरीले सक्दो प्रयास गरेको बताए। मदिरा तथा भन्सार चोरी निकासी बन्द गर्न प्रदेश सरकार नै सक्रिय भएर लागेकाले अनुगमन बढाइएको उनले जानकारी दिए।
‘कुन–कुन नाकाबाट कसरी मदिरा निकासी भइरहेको छ भन्ने सबै जानकारीमा आइसकेको छ,’ सिंहले टेलिफोनमा भने, ‘हामीले गोबरगाढा क्षेत्रबाट ठूलो मात्रामा मदिरा नियन्त्रण गरेका छौं।’
उनले दशगजा क्षेत्रभित्रका मदिरा पसल र बिक्री वितरण बन्द गर्न प्रदेश सरकारले निर्देशन दिएअनुसार प्रहरीले कडाइका साथ काम गरिरहेको बताए।
‘हामीले १० दिनको समय दिएर सूचना जारी गरेका छौं, त्यो समयभित्र सबैले देख्ने र महसुस गर्ने गरी परिवर्तन आउँछ,’ उनले भने, ‘त्यसपछि सूचना होइन, अन दि स्पट कारबाही हुन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।