काठमाडौं– आगामी असार ३ र ४ मा काठमाडौंमा अन्तर्राष्ट्रिय सूचना तथा सञ्चार प्रविधि सम्मेलन आयोजना हुने भएको छ।
कम्प्युटर एसोसिएसन नेपाल महासंघले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गरी अन्तर्राष्ट्रिय स्तरको सूचना तथा सञ्चार प्रविधि सम्मेलन आयोजना गर्न लागिएको जानकारी दिएको छ। देशका विभिन्न भागमा स्मार्ट सिटी बनाउने सरकारको परिकल्पनालाई आवश्यक सुझाव दिने उद्देश्यका साथ सूचना र प्रविधिसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गर्न लागिएको महासंघका महासचिव रञ्जित पोदारले जनाए।
दुई दिने सम्मेलनमा चीन, भारत, मलेसिया, सिंगापुर, श्रीलंका, बंगलादेश, दक्षिण कोरिया आदि मुलुकबाट सहभागिता रहनेछ। अर्थमन्त्री डा युवराज खतिवडाले उद्घाटन गर्ने सम्मेलनमा स्थानीय र प्रदेश सरकारका प्रतिनिधिहरुको पनि उल्लेख्य सहभागिता रहने अपेक्षा गरिएको छ। सम्मेलनले नेपाललाई आधुनिक सूचना प्रविधिको क्षेत्रबारे विस्तृत जानकारी दिने महासंघको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।