काठमाडौं– गुन्डागर्दीको आरोपमा प्रहरीले गोली हानेर पक्राउ गरेका अशोक लामाको वीर अस्पतालमा उपचार हुँदैछ। आज दिउँसो प्रहरीले पक्राउ गर्न खोज्दा भागेपछि लामालाई ललितपुरको यूएन पार्कमा प्रहरीले खुट्टामा गोली प्रहार गरेको थियो। अहिले उनको वीर अस्पतालमा उपचार भइरहेको महानगरीय अपराध महाशाखाका एसएसपी धिरजप्रताप सिंहले जनाए।
उनका अनुसार लामाको साथबाट पेस्तोल र गोली बरामद भएको छ। एउटा पेस्तोल र दुई राउन्ड गोली बरामद भएको महाशाखाले जनाएको छ।
प्रहरीको गोली लागेका लामालाई वीर अस्पतालमा भर्ना गरिएको छ। उनलाई पिँडौंलामा एउटा गोली लागेको छ।
लामा करिब एक दशकदेखि गुन्डागर्दीमा सक्रिय व्यक्ति हुन्। प्रहरीका अनुसार यसअघि उनले २ जनाको हत्या प्रयास गरेका थिए। जसमा पक्राउ परी उनी छुटेका हुन्। सार्वजनिक अपराध मुद्दामा पनि उनी पटक-पटक पक्राउ परेका थिए।
ललितपुरका व्यवसायीहरुले उनी विरुद्ध उजुरी गरेका थिए। सोही आधारमा प्रहरीले उनको खोजी गरेको थियो।
उनीमाथि प्रहरीले हातहतियार तथा खरखजना मुद्दा चलाउने भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।