काठमाडौं– फिल्म 'छक्का पञ्जा ३' मा अभिनेत्री स्वस्तिमा खड्का पनि देखिने भएकी छिन्।
फिल्मको शुभमुहूर्तसम्म पनि स्वस्तिमाको नाम फिल्म युनिटमा अटाएको थिएन।
फिल्मको शुभमुहूर्त कार्यक्रममा स्वस्तिमालाई छोडेर दीपिका रोज्नुको कारणबारे सोध्दा 'हाम्रो स्क्रिप्टमा फुच्ची अभिनेत्री चाहिएकाले दीपिका रोजेको हौं। दीपिका ठिकैको फुच्ची रहेकाले नलिइएको हो' भनेका थिए। तर सुटिङको अन्तिम समयमा आएर स्वस्तिमा फिल्म युनिटमा जोडिएकी छिन्।
नेपाल लाइभसँग कुरा गर्दै फिल्मका निर्मातासमेत रहेका दीपकराज गिरीले फिल्म युनिटको सल्लाह अनुसार स्वस्तिमालाई पुनः आबद्ध गराएको बताए। गिरीका अनुसार करिब १ हप्ताअघि मात्र स्वस्तिमालाई फिल्ममा ल्याउने निर्णय भएको हो। दीपकका अनुसार स्वस्तिमा फिल्मको एक गीतमा मात्र देखिनेछिन्। मुख्य कलाकारमा दीपक र दीपिका प्रसाई रहनेछन्।
फिल्म युनिट यतिबेला सुटिङका क्रममा बाग्लुङ पुगेको छ। फिल्मको सम्पूर्ण छायांकन असारको तेस्रो सातासम्ममा सकिनेछ। आउँदो दसैंको फूलपातीबाट फिल्म नेपालभर एकसाथ प्रदर्शनमा ल्याउने तयारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।