काठमाडौं– ललितपुरमा प्रहरीले एक गुन्डा नाइकेलाई गोली प्रहार गरेको छ। विभिन्न अपराधमा पक्राउ परिसकेका र पछिल्लो समय व्यापारीलाई धम्क्याउँदै आएका अशोक लामालाई प्रहरीले गोली हानेको हो।
ललितपुरको युएन पार्क नजिकै पक्राउ गर्न खोज्ने क्रममा भागेपछि गोली हानिएको महानगरीय अपराध महाशाखाका एसएसपी धीरजप्रताप सिंहले बताए। लामाको दायाँ खुट्टाको पिँडौलामा गोली लागेको छ।
लामाले ललितपुरका क्रसर व्यवसायी तथा जग्गा व्यवसायीहरुलाई धम्क्याउँदै आएका थिए। उनीसँगै रहेका २ जना भने भागेको एसएसपी सिंहले जनाए।
घाइते भएका लामालाई उपचारका लागि वीर अस्पताल लगिएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।
उनीबाट एउटा पेस्तोल र २ राउन्ड गोली पनि बरामद भएको प्रहरीले जनाएको छ।
को हुन् लामा ?
लामा करिब एक दशकदेखि गुन्डागर्दीमा सक्रिय व्यक्ति हुन्। प्रहरीका अधिकारीका अनुसार यसअघि उनले २ जनाको हत्या प्रयास गरेका थिए। जसमा पक्राउ परी उनी छुटेका हुन्। सार्वजनिक अपराध मुद्दामा पनि उनी पटक पटक पक्राउ परेका थिए।
उनी काभ्रेली समूहनिकट व्यक्ति हुन्। ललितपुरका व्यवसायीहरुलाई उनले धम्काएर पैसा उठाउने गरी उजुरी आएको एसएसपी सिंहले बताए। काभ्रेली समूहका दावा लामासँग मिलेर उनले जुवा खेलाउने गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।