एजेन्सी- उत्तर कोरिया र अमेरिकाका शीर्ष नेताबीच हुने ऐतिहासिक शिखर वार्ताको सम्पूर्ण तयारी पूरा भएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाका उच्च नेता किम जोन उन यस वार्ताका लागि आइतबार नै सिंगापुर पुगिसकेका छन्। पूर्वनिर्धारित समय अनुसार मंगलबार उनीहरुबीच भेटवार्ता हुन्छ।
अमरिकाले यस वार्ताअघि नै उत्तर कोरियाले आफ्नो परमाणु कार्यक्रम बन्द गर्नुपर्ने सर्त राखेको छ। तर उत्तर कोरियाले अमेरिकासँग के चाहेको छ, अहिले खुलिसकेको छैन। तर नेता किमले ट्रम्पसँगको वार्ता पूर्णत: शान्ति स्थापित गर्नका लागि केन्द्रित रहने बताउँदै आएका छन्। 'पूरै विश्व यो वार्तालाई नियालिरहेको छ,' किमले भनेका छन्, 'ट्रम्प पनि यो भेटका लागि उत्साहित र सकारात्मक छन्।'
'नयाँ युगको सुरुवात'
उत्तर कोरियाको सरकारी समाचारपत्रमा प्रकाशित एक सम्पादकीयमा अमेरिकासँग सामान्य सम्बन्ध स्थापित गर्ने सम्भावनाबारे संकेत गरिएको छ। सरकारी समाचार पत्र 'रोडोङ सिनमुन'ले प्योङयाङ अमेरिकाको साथ आफ्नो बाटो सुधार गर्ने काममा लाग्ने उल्लेख गरेको छ।
'केही देशसँग हाम्रो सम्बन्ध अति खराब होला तर जुन देशले हाम्रो स्वतन्त्रताको सम्मान गर्छ उसको साथ वार्तामार्फत सामान्य सम्बन्ध कायम राख्नु जरुरी छ,' सम्पादकीयमा लेखिएको छ।
उत्तर कोरियाकै सरकारी समाचार एजेन्सी केसिएनएका अनुसार लामो समयको तयारीपछि हुने शान्तिवार्तामा कोरिया प्रायद्वीपको परमाणु निसस्त्रीकरण र अन्य साझा मुद्दामा छलफल हुनेछ। उक्त एजेन्सीले यो नयाँ युगको सुरुवात हुने पनि लेखेको छ।
सकारात्मक कदम
बिबिसीका उत्तरी अमरिका सम्पादक जोन सोपेलले आफूहरुले वार्तालाई निकै महत्वका साथ कुरिरहेको बताएका छन्। 'तर पारम्पारिक राजनीतिको बाटोबाट यो सम्भव हुनेछैन,' उनले भनेका छन्, 'राष्ट्रपति ट्रम्पले पारम्परिक कूटनीतिको तरिका तोडेर नयाँ बाटो अपनाउने अपेक्षा गरेका छौं।' कोरिया प्रायद्वीपको परमाणु निशस्त्रीकरण कसरी हुने र यसका लागि कस्तो प्रक्रिया अपनाइनेबारे भने तयारी नभएको उनले बताए।
यसका साथै अमेरिकाले उत्तर कोरियालाई लगाउँदै आएको आर्थिक प्रतिबन्ध कति हटाउने र उसको सुरक्षाको ग्यारेन्टीको विषय पनि निकै जटिल देखिएको छ। 'तर जे भए पनि अहिलेका लागि दुई नेताबीचको भेट नै सकारात्मक कदम हो,' उनले भने।
आइतबार सिंगापुर पुगेका किम फाइभ स्टार होटल सेन्ट रेजिसमा बसेका छन् भने ट्रम्प त्यसको नजिकै सांग्रिला ला होटलमा छन्।
दुवै नेताको वार्ता सेनटोसा द्वीपको एक होटलमा हुनेछ।बिबिसीबाट
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।