राजविराज– ‘२२ वर्षअघिसम्म हाम्रो बस्ती आसपास पानीको हाहाकार थियो,’ सप्तरीको शम्भुनाथ नगरपालिका २, कनकपट्टिका मोहम्मद रसुल भन्दै थिए, ‘बस्तीका धेरैजसो ट्युवेल सुक्नाले पिउने पानीको पनि ठूलो समस्या थियो।’
तर, यतिवेला अवस्था फेरिएको छ। चुरे फेदीमा अवस्थित कनकपट्टी आसपासमा वर्षाकालीन भलपानीको संरक्षण गरी सिँचाइमा टेवा पुर्याउने उद्देश्यले संरक्षण पोखरी निर्माण हुँदा यतिबेला सो क्षेत्र हराभरा हुनुका साथै सबै ट्युवेलमा पर्याप्त पानी आउन थालेको छ।
जिटिजेडको सहयोगमा २०५२ सालमा चुरे क्षेत्रको वर्षाकालीन भलपानी संकलन गरी सुख्या याममा सिँचाइ गर्ने उद्देश्यले ३ वटा पोखरी निर्माण भएपछि आसपासको बस्तीमा रहेका सुकेका ट्युवेलमा समेत पानी आउने क्रम बढेको रसुलको भनाइ छ।
संरक्षण पोखरीको पानी उपयोगी बन्न थालेपछि स्थानीहरुले त्यस आसपासमा आँप खेती सुरु गरेका छन्। पानी संकलनमा वृद्धि गर्नका लागि थप संरक्षण पोखरी समेत निर्माणका क्रममा रहेका छन्।
यसको निर्माण कार्य अन्तिम चरणमा पुगेको खुरहुरीया खोला संरक्षण पोखरी उपभोक्ता समितिका अध्यक्ष तेजनारायण चौधरीले बताए। ‘जम्मा भएको पानी धान, गहुँ, मकै र आँपका लागि सिँचाइ गर्न सजिलो भएको छ,’ उनले भने।
संरक्षण पोखरी निर्माणका लागि जिल्ला भूसंरक्षण कार्यालयले ९ लाख ९४ हजार ९७१ तथा उपभोक्ता समूहको जनसहभागिताबाट १ लाख २२ हजार गरी १० लाख ८ हजार रुपैयाँको लागत छ। कार्यालय प्रमुख विष्णुबहादुर भण्डारी भन्छन्, 'चुरे विनाश हुँदै गएका कारण यसको संरक्षणसँगै सुक्दै गएको पानीको जलाधारलाई जीवन्त राख्न यस्ता पोखरी निर्माण गर्न थालिएको हो।'
संरक्षण पोखरीको उपयोगिता बढ्दै गएपछि उपभोक्ता समितिमार्फत जिल्लाभर अन्य १० वटा पोखरी निर्माण भएको जिल्ला भूसंरक्षण कार्यालय सप्तरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।