काठमाडौ- नेपाल प्रहरीको नायब उपरीक्षक(डिएसपी) पदमा भएको बढुवा सिफारिसविरुद्ध उजुरी परेको छ। इन्सपेक्टर खड्ग नारायण साहले उजुरी दिएका हुन्।
आफु सिनियर भएपनि बढुवामा छुटाइएर अन्याय गरेको भन्दै उनले उजुरी दिएका हुन्। साह २०६२ सालका इन्सपेक्टर हुन्। प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल नेतृत्वको बढुवा समितिले ८ दिनअघि २०६३ सालमा भर्ना भएका ५५ जना इन्सपेक्टरलाई डिएसपी बढुवामा सिफारिस गरेको थियो। अघिल्लो ब्याचका केही सिनियर इन्सपेक्टरहरु बढुवामा छुटेका थिए।
५५ जनामध्ये पनि सिनियरलाई पछि पारिएको र नेताहरु निकटलाई बढुवामा अघि राखिएको भन्दै सिफारिसमा विवाद भएको थियो।
एसपी र डिएसपी बढुवामा राम्रा प्रहरी अधिकारीलाई पछि पारिएको तथा नेता निकटलाई पुरस्कृत गरिएको भन्दै गृहमन्त्री रामबहादुर थापा र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको आलोचना भइरहेको छ।
के हुन्छ उजुरीउपर ?
उजुरीउपर लोक सेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले छानबिन गर्ने छ। जसमा मुख्यसचिव र कानुन मन्त्रालयका सचिव सदस्य हुनेछन्। उजुरी दिने म्याद सकिएको १५ दिनभित्र सो समितिले उजुरीउपर टुंगो लगाउनुपर्ने प्रहरी नियमवाली २०७१ मा उल्लेख छ।
तर, सो समितिले बढुवालाई हेरफेर गर्न नसक्ने प्रावधान पछि थपिएको थियो।
उजुरी पुष्टि हुन नसके उजुरीकर्ताको २ नम्बर काटिने प्रावधान पनि प्रहरी नियमावलीमा छ।
करिब ४ वर्षअघिको एआईजी बढुवाको सिफारिसलाई उजुरी सुन्ने समितिले उल्टाएपछि सरकारले समितिको अधिकार कटौती गरेको हो। जसकारण उजुरीको प्रावधान देखावटी मात्र बनेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।