काठमाडौं– रोजगारीको खोजीमा दैनिक एक हजारभन्दा धेरै नेपाली विदेसिइरहँदा अन्य मुलुकबाट नेपाल आएर गैरकानुनी रुपमा काम गर्नेहरु बढिरहेका छन्। बंगलादेशदेखि उत्तर कोरियासम्मका नागरिक नेपालमा अवैध रुपमा बसेर काम गरिरहेका छन्।
गत बैसाख अन्तिम साता अवैध रुपमा नेपालभित्र बसेर काम गरिरहेका ११ जना उत्तर कोरियाका नागरिकलाई प्रहरीले पक्राउ गर्यो।
उजुरीका आधारमा उत्तर कोरियाली नागरिकले सञ्चालन गरेको दरबारमार्गस्थित प्योङयोङ आर्रेयाङ रेस्टुरेन्टबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। पक्राउ गरेलगत्तै प्रहरीले अध्यागमन विभागको जिम्मा लगाए पनि विभागले उनीहरुलाई कारबाही गर्न सकेन, दूतावासको जिम्मा लगाएर छाडिदियो।
बिजनेस भिसामा नेपाल आएर गैरकानुनी रुपमा काम गरिरहेको सूचनाका आधारमा सो रेस्टुरेन्टमा छापा हानिएको महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहले बताए। श्रम स्वीकृतिबिना नेपालमा धेरै विदेशी नागरिकले काम गर्दै आएको सूचना रहेको उनी बताउँछन्।
पक्राउ परेकालाई कारबाही हुन नसक्दा अहिले पनि विदेशी नागरिक निर्बाध रुपमा नेपालमा काम गरिरहेको प्रहरीको भनाइ छ। उत्तर कोरियाली रेस्टुरेन्टमा काम गर्ने व्यक्तिले जासुसी संयन्त्र सञ्चालन गर्ने, पैसा कमाउने र आफ्नो देशमा पठाउने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
विगतमा नेपालमा अवैध रुपमा बसेर काम गरिरहेका बंगलादेशी नागरिकहरु पटक–पटक पक्राउ परेका छन्। नेपालमा अवैध रुपमा बसेर काम गर्दै आएका धैरै बंगलादेशीलाई आफूहरुले निष्कासन गरेको अध्यागमन विभागका महानिर्देशक दीपक काफ्ले बताउँछन्।
त्यस्तै, नेपालमा चिनियाँहरुलाई भिसा निःशुल्क गरेसँगै पर्यटक भिसामा नेपाल आएर काम गर्ने प्रवृत्ति बढेको छ।
उत्तर कोरियाली लगायत विदेशी नागरिकले नेपालमा व्यापार तथा पर्यटक भिसाको दुरुपयोग गरी काम गरिरहेको विषयमा श्रम विभागमा समेत पटक–पटक उजुरी पर्दै आएको छ। यो विषयमा कार्यालयले श्रम, रोजगार तथा सामाजिक मन्त्रालय र परराष्ट्र मन्त्रालयमा जानकारी गराएको जनाएको छ।
पर्यटक भिसामा आएर अवैध रुपमा काम गरेको थाहा पाए पनि सरकारले अनुगमन प्रभावकारी बनाएर कारबाही गर्न सकेको छैन। अनुगमनको जिम्मेवारी अध्यागमन विभागको हो। तर, विभागले जनशक्तिको अभाव देखाउँदै अनुमगन गर्न सकेको छैन।
नेपालमा पर्यटक र बिजनेस भिसामा आएका हजारौं विदेशी नागरिकले अवैधानिक रुपमा काम गरिरहेको सरकारी अनुमान छ। नेपालमा गैरसरकारी संस्था, कूटनीतिक नियोग, जलविद्युत् आयोजना, निर्माण क्षेत्र, बैंकिङ, सञ्चार, एयरलाइन्स, होटल, प्रविधि र शिक्षा क्षेत्रमा विदेशी नागरिक काम गर्न आउने गरेको श्रम विभागले जनाएको छ।
अध्यागमन नियमावली २०५१ को दफा २० को उपदफा २ मा बिजनेस भिसा प्राप्त गर्ने विदेशीले जुन उद्देश्यका निमित्त भिसा लिएका हुन्, त्यसबाहेक अन्य काम गर्न नपाउने व्यवस्था छ। अध्यागमन नियमावली हेर्ने हो भने पनि पर्यटक र बिजनेस भिसामा आएर काम गर्नु गैरकानुनी देखिन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।