विश्वकप २०१८ समूह एफ– जर्मनी, स्विडेन, मेक्सिको, दक्षिण कोरिया।
२०१८ को समूहमा डिफेन्डिङ च्याम्पियन जर्मनीसँगै स्विडेन, मेक्सिको र दक्षिण कोरिया छन्। यो समूहमा मेक्सिको र स्विडेनबीचको खेललाई महत्वपूर्ण मानिएको छ। जर्मनीले सहज रुपमा समूह चरणमा पार गर्ने सम्भावना छ। जसकारण मेक्सिको, स्विडेन र दक्षिण कोरिया मध्ये एक टिमले मात्र अन्तिम १६ मा स्थान बनाउनेछन्।
के तपाईंलाई थाहा छ?
गत वर्ष रसियामै भएको फिफा कन्फेडेरेसन कपमा जर्मनी र मेक्सिकोबीच सेमिफाइनलमा प्रतिस्पर्धा भएको थियो। खेलमा जर्मनीले मेक्सिकोलाई ४–१ गोलले पराजित गरेको थियो। यद्यपी मेक्सिकोका मार्को फाबियनले जर्मनी विरुद्ध प्रतियोगिताकै सर्वोत्कृष्ट गोल गरेका थिए।
जर्मनी र दक्षिण कोरियाबीच यसअघि चार पटक प्रतिस्पर्धा भएको छ। यता कोरियाले स्विडेनसँग ४ पटक खेल्दा मेक्सिको विरुद्ध भने १२ पटक प्रतिस्पर्धा गरेको छ। कोरियाले तीन टिमसँग समग्रमा १९ खेल खेल्दा ६ खेलमा जित हात पारेको छ।
स्विडेनले रसियामा टिकट काट्ने क्रममा युरोप छनोटमा तीन वटा त्यस्ता टिमलाई हरायो, जो विश्वकपको फाइनलमा पुगेका थिए। स्विडेनले जर्मनीसँग विश्वकपमा आठौं पटक प्रतिस्पर्धा गर्न लागेको हो। स्विडेन विश्वकपको पूर्व उपविजेता पनि हो। सन् १९५८ को विश्वकपमा फाइनलमा पुगेको स्विडेनलाई ब्राजिलले ५–२ गोलले हराएको थियो।
सन् २०१४ को विश्वकप छनोटमा जर्मनी र स्विडबीच भएको २ लेगमा १६ गोल भएको थियो। पहिलो खेलमा जर्मनीले ४ गोलको अग्रता लिएपनि स्विडेनले उत्कृष्ट पुनरागमन गर्दै ४ गोल फर्काउँदा खेल ४–४ गोलको बराबरीमा सकिएको थियो। दोस्रो लेगमा स्विडेनले लिएको २–० को अग्रता उल्टाउदै जर्मनीले ५–३ को जित हात पारेको थियो।
समूह 'एफ'का चार टिमको विश्वकप इतिहास
दक्षिण कोरिया
दक्षिण कोरिया एसियाको तेस्रो चरणको छनोटअन्तर्गत समूह ’ए’को उपविजेता बन्दै विश्व कपमा छनोट भएको हो। सन् १९८६ देखि लगातार विश्वकप खेल्दै आइरहेको कोरियाको यो दशौं सहभागिता हो। कोरियाले पहिलो पटक १९५४ मा विश्व कप खेलेको थियो। कोरियाको राम्रो प्रदर्शन भनेको २००२ मा आफ्नै देशले जापानसँग मिलेर संयुक्त रुपमा आयोजना गरेको विश्व कपमा सेमिफाइनलसम्मको यात्रा तय गर्नु हो।
जर्मनी
जर्मनी ब्राजिलपछि सर्वाधिक विश्व कप खेल्ने टोली हो। यसपालि उसले युरोप छनोट अन्तर्गत समूह ‘सी’ को विजेता बन्दै रुसको टिकट काटेको हो। जर्मनी १९औं पटक विश्व कप खेल्दैछ। सन् १९५४ पछि जर्मनी लगातार विश्व कपमा सहभागी हुँदै आएको छ। जर्मनीले १९५४, १९७४, १९९० र २०१४ मा गरी चार पटक विश्व कप उपाधि जितेको छ।
स्विडेन
युरोप छनोटको पहिलो चरणबाट विश्व कपमा स्थान बनाउन नसकेपछि स्विडेनले ‘प्लेअफ’ को सहारा लियो। ‘प्लेअफ’ मा स्विडेनले चार पटकको विश्व विजेता इटालीलाई १–० ले हराएर १२ वर्षपछि विश्व कपमा स्थान बनायो। स्विडेनले विश्व कप खेल्न लागेको १२औं पटक हो। यसअघि उसले १९३४, १९३८, १९५०, १९५८, १९७०, १९७४, १९७८, १९९०, १९९४, २००२ र २००६ मा सहभागिता जनायो। विश्व कपमा स्विडेनको राम्रो प्रदर्शन १९५८ मा दोस्रो हुनु हो। स्विडेन फाइनलमा ब्राजिलसँग ५–२ ले पराजित भएको थियो।
मेक्सिको
उत्तर अमेरिकी छनोटको विजेता बन्दै मेक्सिको १६औं पटकका लागि विश्व कपमा छनोट भएको हो। सन् १९३० मा भएको पहिलो संस्करणमा पनि मेक्सिको सहभागी थियो। त्यसयता उसले १९५०, १९५८, १९६२, १९७०, १९७८, १९८६, १९९४, १९९८, २००२, २००६, २०१० र २०१४ मा प्रतिस्पर्धा गरिसकेको छ। मेक्सिको विश्व कपमा अहिलेसम्म क्वार्टरफाइनलभन्दा माथि पुग्न सकेको छैन। मेक्सिको १९७० र १९८६ को विश्व कपमा अन्तिम ८ मा पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।