डालास (टेक्सास)- हेनरी फोर्डले १९१४ मा डालास शहरमा मोटरकार कारखाना स्थापना गरेका थिए। दोस्रो विश्वयुद्धका बेला यही कारखानालाई बम उत्पादनको केन्द्र बनाइयो। यतिबेला अमेरिकाको सांगीतिक यात्रामा रहेको लोक-रक ब्यान्ड नेपथ्यका सोही स्थानलाई पहिलो पटक कन्सर्ट आयोजना स्थल बनाएको छ।
सन् १९९३ मा यसै स्थानलाई संगीत प्रदर्शनी थलोका रुपमा परिणत हुनेगरी पुनःनिर्माण गरिएपछि त्यसयता ‘ब्ल्याक साबाथ’, ‘कोर्न’, ‘लेड ज्यापलिन’ का रोबर्ट प्लान्ट र ‘द इगल्स’का डन हेनलीले आफ्नो प्रस्तुति दिइसकेका छन्।
‘रोबर्ट प्लान्ट र डन हेनली जस्ता महान् कलाकार उभिएकै मञ्चमा नेपथ्य प्रस्तुत हुन पाउनु गौरवको कुरा हो’, ब्यान्डका मुख्य गायक अमृत गुरुङले भने।
नेपथ्यका लागि २५ सयभन्दा धेरै दर्शकले भरिएको डालासको यो कन्सर्ट अमेरिका यात्राकै पहिलो शो बन्यो। ब्यान्डले लगातार दुई घन्टा प्रस्तुति दिएको थियो।
कन्सर्टको सुरुवात नेपथ्यको प्रारम्भिक गीतका रुपमा पहिचान बनाउँदै गएको ‘कुरुप अनुहार हो’ बाट भएको थियो। त्यसलगत्तै ब्यान्डको एकपछि अर्को सदाबहार र नयाँ एल्बमका गीतहरु प्रस्तुत भएको थियो।
ब्यान्डको दसौं एल्बमका ‘शिरफूल शिरैमा’ र ‘कोसीको पानी यो जिन्दगानी’ लाई दर्शकले निकै रुचाएका थिए। यस्तै, सदाबहार गीततर्फ ‘भेँडाको ऊन जस्तो’, ‘रेशम’, ‘तालको पानी’ र ‘जोगले हुन्छ भेट’ जस्ता गीतले दर्शकको जोशलाई बढाएको थियो। कन्सर्टमै ‘हामी नेपाली’, ‘गाउँगाउँबाट उठ’ र ‘रातो र चन्द्रसूर्जे’ जस्ता गीतले माहोल पूरै देशभक्तिमा डुबाएको थियो।
‘नेपथ्यले आज मलाई घरको याद दिलायो’, १५ वर्षदेखि परिवारका साथ अमेरिका बस्दै आएकी दीक्षा भट्टले भनिन्, ‘कन्सर्ट हेरेपछि घर फर्केर देशकै निम्ति केही गरौं भन्ने भावना बढेको छ।’
गीतहरु सुनाउने क्रमकै बीचमा गायक अमृतले कहिले नेपालका गाउँघरका यात्राको वर्णन गरे भने कहिले विश्वशान्ति र मानवताको आह्वान गरेका थिए।
‘यस हलमा कुनै समय बनेका बमहरु मानवता विरुद्ध विध्वंशका माध्यम बनेका थिए होलान्’, उनले भने, ‘संसारभरका सबै बम कारखाना यसैगरी गीत प्रस्तुत गर्ने थलोका रुपमा विकास होस्, प्रेम र संगीतले युद्ध र हिंसालाई सधैंका लागि जितोस् भन्ने कामना गर्छु।’
कन्सर्ट आयोजक टिमका बचन तिवारीले सन् २०१२ र २०१५ मा नेपथ्य अमेरिका भ्रमणमा रहेको बेला डालास बोलाउने प्रयास गरे पनि लामो प्रतीक्षापछि मात्र यो मौका जुरेको बताए।
डालासको कन्सर्टपछि ब्यान्ड अर्को अमेरिकी शहर बोस्टनमा प्रस्तुति दिनेछ। बोस्टनको ‘रोयल बोस्टन हल’ मा जून २४ तारिखमा कन्सर्ट मिति तय गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।