मस्को– रसियाली राष्ट्रपति भ्लादिमिर पुटिनले आफूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग ‘रचनात्मक भेट’को अपेक्षा गरेको बताएका छन्।
पुटिनले भने, ‘ट्रम्प कुनै पनि व्यक्तिलाई कसरी सुन्नुपर्छ र उनीहरूका भनाइलाई कसरी बहसमा लानुपर्छ भन्ने गम्भीर सोच भएको व्यक्ति हुनुुहुन्छ। यसले मलाई उहाँप्रति विश्वास गर्ने आधार बनाएको छ। मलाई लाग्छ उहाँसँगको वार्ता रचनात्मक सिद्ध हुनेछ।’
ट्रम्पले रूसी राष्ट्रपतिलाई भेट्नका लागि गत अप्रिलमा निमन्त्रणा पठाएका थिए। उनीहरुबीच यही वर्ष भेट हुने सम्भावना रहेको भएपनि कहिले भेट हुँने अझै अनिश्चित नै छ।
रूसी उपविदेशमन्त्री सेर्गेइ र्याकोभले यस पहिले दुई देशका उच्च नेताबीच हुने भेट मस्को र वासिङ्टनको सम्बन्ध सुधारका लागि महत्वपूर्ण हुने बताएका थिए। दुवै नेताहरूबीच प्रत्यक्ष हुने यो तेस्रो भेट हुनेछ।
यसअघि उनीहरुबीच जी–२० शिखर सम्मेलनको सन्दर्भमा जर्मनीको ह्यामवर्गमा गत वर्षको जुलाईमा भेट भएको थियो। दोस्रो पटक उनीहरू एसिया प्रशान्त वित्तीय सहकार्य शिखर सम्मेलनका अवसरमा गत नोभेम्बरमा भियतनाममा भेटेका थिए।
यस वर्षको मार्चमा दुई नेताले टेलिफोन वार्ता गरेका थिए भने उक्त अवसरमा ट्रम्पले पुटिनलाई वासिङ्टन डिसीको भ्रमण गर्न आमन्त्रण गरेका थिए। दुई देशबीचको सम्बन्धमा सन् २०१५ मा रूसले क्रिमियालाई लिएपछि यूक्रेनी सङ्कट, अमेरिकी निर्वाचनमा भएको भनिएको हस्तक्षेप र सिरियाली गृहयुद्धका कारण चिसोपना थपिएको बताइन्छ। रासस/एएनआई
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।