मस्को– रसियाली नेता भ्लादिमिर पुटिन तथा यूक्रेनी राष्ट्रपति पेट्रो पोरोसेन्कोबीच दुवै देशले विभिन्न आरोपमा पक्राउ परी जेल जीवन बिताइरहेका बन्दीहरूलाई एकापसमा रिहाइ गर्ने विषयमा शनिबार फोनवार्ता भएको रूसी प्रशासनिक केन्द्र क्रेमलिनले जनाएको छ।
यससँगै रूसी जेलमा भोक हड्ताल गरिरहेका यूक्रेनी प्रसिद्ध सिनेमा निर्देशक ओलेग सेन्टसोभ लगायत कैयौँ यूक्रेनी बन्दीहरू आगामी हप्ता रूसमा विश्वकप फुटबल सुरु हुनुपूर्व नै रिहा हुने विश्वास गरिएको छ।
दुई देशका राष्ट्रप्रमुखबीच भएको वार्ता मानवीय विषय तथा दुवै देशका कैदीहरूको आपसी रिहाइसम्बन्धि विषयमा केन्द्रित भएको क्रेमलिनले एक विज्ञप्ति जारी गरी जनाएको छ।
उक्त फोनवार्तामा पुटिनले यूक्रेनमा केही समय पहिले पक्राउ परेका रूसी पत्रकारहरूलाई तत्काल रिहा गरिनुपर्ने बताएका क्रेमलिनको दावी छ। क्रेमलिनका अनुसार दुई नेताबीच पूर्वी यूक्रेनको द्वन्द्वका विषयमा पनि छलफल भएको छ।
यूक्रेनी राष्ट्रपति पोरोसेन्कोले पनि गत मे १४ देखि भोक हड्ताल गर्दै आएका सिने निर्देशक सेन्सभ र अन्य यूक्रेनी राजनीतिक बन्दीको रिहाईको मुद्दालाई उठाएका र उनीहरूलाई जतिसक्दो छिट्टै रिहाइ गरिनुपर्नेमा जोड दिएका थिए।
सेन्सोभले सुदूर उत्तरी रूसमा आतङ्कवादी गतिविधिमा सम्लग्न भएको अभियोगमा रूसमा बीस वर्ष लामो जेल सजाय भोगिरेहका छन्। रासस/एएफपी
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।