धनगढी- कैलाली निर्वाचन क्षेत्र नम्बर ५ क्षेत्रीय कार्यसमितिले पूर्व सांसद पुष्करनाथ ओझासहित २० जनाको नाम केन्द्रमा पठाउँदै कारबाहीको सिफारिस गरेको छ।
चुनावका बेला पार्टीको आधिकारिक उम्मेदवार विरुद्ध दुष्प्रचार गरी हराउन लागिपरेको भन्दै कारबाहीका लागि केन्द्रीय समितिमा नाम सिफारिस गरेको हो।
मन्त्री ओझासहित महासमिति सदस्य, जिल्ला पार्टी सचिव, वडा सदस्य, साधारण सदस्यहरु गरि २० जनाको नाम सिफारिस गरेको क्षेत्रीय कार्यसमितिले जनाएको छ। क्षेत्र नम्बर ५ का सभापति हरिश खड्का, सचिव भीम पडाल, धनगढी नगर सभापति नृपबहादुर वड, यज्ञराज उपाध्याय, निर्वाचन परिचालन मूल समितिका वडा संयोजकहरुले पेश गरेको प्रतिवेदनमा कारबाहीको सिफारिस गरिएको हो।
समितिले पार्टी महासमिति सदस्य आनन्दराज जोशी, पार्टी जिल्ला सचिव पूर्ण कुँवर, धनगढी वडा नम्बर ५ का वडा सदस्य बब्लुकुमार चौधरी, जिल्ला सदस्य लक्ष्मी देवकोटा, निर्वाचन क्षेत्र नम्बर ५ का क्षेत्रीय उपसभापति कुम्भराज गिरीको नाम सिफारिस गरेको छ।
यस्तै, नेवि संघ सह–महामन्त्री प्रेम जोशी, धनगढी वडा नम्बर ७ का सभापति देवबहादुर सेठी, वडा नम्बर १९ का वडा सचिव गंगादत्त ओझा, वडा नम्बर ३ का क्षेत्रीय प्रतिनिधि सीताराम अवस्थी, वडा नम्बरका वडा सदस्य शुभाष चन्द, वडा नम्बर १८ का क्षेत्रीय प्रतिनिधि फूलनारायण भुषाल, वडा नम्बर १३ का तरुण दल अध्यक्ष खडक ओझा, वडा नम्बर १३ का क्षेत्रीय प्रतिनिधि भोजराज भट्टको नाम पनि कारबाहीको सूचीमा राखिएको छ।
यस्तै, क्रियाशील सदस्य विनायक पनेरु, लोकराज अवस्थी, चन्द्रदेव जोशी, शिक्षक संघ जिल्ला कार्यसमिति सदस्य लक्ष्मी ओझा, पूर्व क्षेत्रीय सचिव खेम भट्ट र सदस्य भूमिनन्द ओझाको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति हरिश खड्काले जानकारी दिए।
निर्वाचनका क्रममा कार्यकर्ता परिचालन, आर्थिक व्यवस्थापन, विभिन्न समुदायसँगको छलफल, अन्तर्क्रिया गर्दा समेत प्रतिनिधिसभामा कांग्रेस उम्मेदवार डा आरजु राणा देउवाले यस क्षेत्रबाट हार्नु अप्रत्याशित घटना रहेको बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।