काठमाडौं- पित्तनलीको क्यान्सरका कारण गम्भीर अवस्थामा रहेका वरिष्ठ न्युरो सर्जन डाक्टर उपेन्द्र देवकोटाले जन्मथलो जाने इच्छा व्यक्त गरेपछि शनिबार दिउँसो गोरखा पुर्याइयो।
जन्मघरको पिँढीमा पुगेपछि डाक्टर देवकोटा निकै खुसी र हर्षित भए। उनीसँगै काठमाडौंबाट गएका नेपाल मेडिसिटी अस्पतालका डाक्टर सञ्जय कार्कीका अनुसार जन्मस्थान पुगेपछि देवकोटाको अनुहार एकाएक उज्यालियो।
'काठमाडौंमा रहँदा र जन्मस्थानमा पुग्दा अनुहारको भावभंगीमा नै निकै फरक देखियो,’ डा कार्कीले भने, 'त्यहाँ डाक्टर देवकोटाले वरिपरि रहेका आफन्तलार्इ हेर्नुभयो र भन्नुभयो, ‘आई फिल भेरी ह्याप्पी। आई फिल एमेज्ड।’
क्यान्सरसँग कठिन संघर्ष गरिरहेका डा देवकोटामा जन्मघरप्रतिको अगाध प्रेम उनका आँखामा छचल्किएको थियो। आफ्नो स्वास्थ्य अवस्था गम्भीर हुँदै गएको महसुस गरेपछि डा देवकोटाले जन्मघरको पिँढीमा सुस्ताउने र सिस्नेघारी धाराको पानी पिउने इच्छा जाहेर गरेका थिए।
‘उहाँकै इच्छा अनुसार जन्मघर लगिएको थियो,’ डा कार्कीले काठमाडौं फर्केपछि भने, ‘हामी त्यहाँ करिब एक घन्टाजति बस्यौँ। उक्त अवधिभर उहाँले मुस्कुराउने प्रयास गरिरहनुभएको थियो।’
बाल्यकालका यादलार्इ जीवनको अन्तिम प्रहरमा पुनर्ताजगी गर्ने उनको चाहना परिवारले पूरा गरेको थियो। बिरामी उनलार्इ त्यहाँ पुर्याएर सकुशल काठमाडौं फर्काउने सहयात्रीका रुपमा मेडिसिटी अस्पतालमा कार्यरत एभिएसन तालिम प्राप्त डा कार्की, मेडिसिटीका प्यारामेडिक्स रमेश न्यौपाने र न्युरो अस्पतालका डाक्टर थिए।
जन्मस्थानमा पुगेर फर्केपछि डा देवकोटामा आत्मबल बढेको महसुस आफूले गरेको डा कार्कीले बताए।
जन्मघर आँपपिपल पण्डितगाउँमा पुगेपछि डा देवकोटाले घर नजिकैको सिस्नेधाराको पानी पिएका थिए। उनकी छोरी वसुधाले गिलासमा ल्याइएको पानी उनलाई चम्चाले पिलाएकी थिइन्।
जन्मघरमा करिब एक घन्टा बसेपछि डा देवकोटालाई पुन: काठमाडौंस्थित न्युरो अस्पतालमा नै ल्याइएको छ। उनलाई अस्पतालको आइसियूमा राखेर उपचारमा निरन्तरता दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।