काठमाडौं– 'अमर भावना गीतकार राष्ट्रिय स्रष्टा सम्मान २०७४’ बाट वरिष्ठ गीतकार कालीप्रसाद रिजाल सम्मानित भएका छन्। शनिबार नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित कार्यक्रममा गीतकार संघ नेपालले उनलाई सम्मान गरेको हो।
रिजाललाई पूर्वराष्ट्रपति डा रामवरण यादवले रु १ लाख १ रुपैयाँसहित ताम्रपत्र र दोसल्ला ओढाएर सम्मान गरे।
१९९६ सालमा सुनसरीमा जन्मिएका रिजाल ९ वर्षको उमेरबाटै नेपाली गीतलेखन र गायनमा प्रवेश गरेका हुन्। आफ्नी आमाका प्रेरणाबाट लेखनमा होमिएका रिजालले आजसम्म गीत, कविता र साहित्यका अन्य विधामा निरन्तर कलम चलाइरहेका छन्।
रिजालले ‘झरेको पातझैं भयो,’ ‘केही मिठो बात गर’, ‘बिहान उठ्ने बित्तिकै’ जस्ता लोकप्रिय गीत सिर्जना गरेका छन्।
गीतकार संघले यस वर्षको वर्षगीत पुरस्कारबाट सुमन वैरागी र पवित्रा राईलाई सम्मान गरेको छ। यस्तै, गीत पुस्तक पुरस्कारबाट जानुका राई र सुमन श्रापित सम्मानित भए। दुवै पुरस्कारको राशी ५१ हजार नगद रहेको छ।
यसैगरी अमेरिकामा बस्दै आएकी गीतकार राखी गौचन 'डायस्पोरा गीतकार'को रुपमा सम्मानित भइन्। पुरस्कारको राशी ११ हजार नगद छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।