डडेल्धुरा– नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो निर्वाचनमा पार्टी कमजोर देखिए पनि बिस्तारै पुरानै ठाउँमा फर्काउने अठोट गरेका छन्।
कांग्रेस डडेल्धुराको जिल्ला सम्मेलनको उद्घाटन गर्दै सभापति देउवाले अहिले पार्टीलाई एकीकृत गर्न आवश्यक रहेकोमा जोड दिए। आफू प्रधानमन्त्री रहँदा ल्याएका कार्यक्रम ओली सरकारले हटाएको भन्दै उनले वर्तमान सरकारले देशमा ठूलो संकट ल्याएको आरोप समेत लगाए।
‘मैले लागू गरेको वृद्धभत्ता, मिर्गौला तथा कलेजो क्यान्सर बिरामीका लागि दिइने रकम अहिलेको सरकारले हटाएको छ’, उनले भने, ‘मैले सुने अनुसार यो सरकारले मैले भनेका सबै कुरामा बजेट पनि घटाएको छ।’
देउवाले कांग्रेसको सरकार भएको बेला पेट्रोलियम पदार्थको मूल्य बढाइएको बेला सबैले आल्दोलन गरेको तर अहिलेको सरकारले ३ महिनामा पटकपटक मूल्य बढाउँदा समेत जनता मूकदर्शक बसेको टिप्पणी गरे।
उनले प्रश्न गरे, ‘मेरो मात्रै विरोध गर्ने? ओलीले गरेको कामको चाहिँ विरोध नगर्ने?’
पार्टी कार्यालयमा आयोजना भएको कार्यक्रममा कार्यकर्ताले आक्रोशित हुँदै जिल्लामा कांग्रेसको गुटबन्दीका कारण पार्टी चुनावमा हारेको गुनासो गरेका थिए। गुनासो सुनेपछि उनले आश्वस्त पार्दै भने, ‘सबै मिलेपछि कांग्रेसलाई फेरि पुरानै ठाउँमा ल्याइछाड्नेछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।