काठमाडौं– महानायक राजेश हमाल आजबाट ५४ प्रवेश गरेका छन्। २७ जेठ २०२१ मा पाल्पाको तानसेनमा जन्मिएका हमालले नेपाली फिल्ममा जीवनको २७ वर्ष खर्चिसकेका छन्।
२०४८ सालमा फिल्म ‘युगदेखि युगसम्म’बाट फिल्मक्षेत्रमा पाइला राखेका हमालले २ सयभन्दा बढी फिल्ममा अभिनय गरिसकेका छन्। डेब्यू फिल्म नै सुपरहिट भएपछि उनको फिल्मी यात्राले पछाडि फर्किनु परेन। यही फिल्मबाट उनले उत्कृष्ट नवनायक राष्ट्रिय फिल्म अवार्ड समेत पाएका थिए।
साढे २ दशक लामो अभिनय यात्रामा हमालले लगभग पूरापूर समय नेपाली फिल्ममा राज गरे, यस अवधिमा उनी स्टारडमको पर्याय नै बने। उनी अभिनीत बहुसंख्यक फिल्मले व्यावसायिक सफलता पाएका छन्। त्यसो त उनले कुनै विशिष्ट र यादगार फिल्म नदिएर एकैनासका काम देखाए भनेर पनि टीका–टिप्पणी गरिन्छ। तर, आम दर्शकका लागि चरित्रकै हिसाबले उनी कहिले ‘देउता’ बने, कहिले ‘शंकर’ बने। अभिनयकै कमाइले उनले ‘महानायक’को उपनाम पनि पाए।
राष्ट्रिय चलचित्र पुरस्कार, राष्ट्रिय नागरिक गोल्डेन अवार्ड लगायत थुप्रै अवार्ड र सम्मान उनले पाइसकेका छन्।
हमालले सन् १९८५ मा भारतको ‘फेसन नेट’ म्यागजिन र सन् १९८६ मा काठमाडौंमा र्याम्पमा उत्रेर ग्ल्यामरको दुनियाँमा उपस्थिति जनाएका थिए। त्यसपछि मात्र उनले अभिनयमा पाइला राखेका हुन्।
प्रायः नपढेका मानिसहरुको बाहुल्य रहेको मानिने नेपाली फिल्म क्षेत्रमा उनी पढालेखा नायक पनि मानिन्छन्। भारतको पञ्जाब विश्वविद्यालयबाट उनले अंग्रेजीमा एमए गरेका छन्।
उमेरले ५० छोइसक्दा पनि विवाह नगरेका बेला हमाल विभिन्न प्रश्न र आशंकाले घेरिन्थे। विभिन्न अभिनेत्रीसँगको प्रेम र विवाहका प्रसंगको जवाफ दिएर हैरान भएका उनले अन्ततः चार वर्षअघि विराटनगरकी मधु भट्टराईसँग विवाह गरे।
एक समय नेपाली फिल्मक्षेत्रमा एकछत्र राज गरेका राजेश पछिल्लो समय अभिनयबाट ओझेल परेका छन्। पछिल्लो समय फिल्म ‘बागमती’ र ‘शकुन्तला’ पछि उनले फिल्म गरेका छैनन्। विदेश भ्रमण र सार्वजनिक कार्यक्रमहरुमा उनको व्यस्तता बढेको छ।
अब अभिनयभन्दा पनि उनले निर्देशन गर्ने चर्चा फिल्म बजारमा चल्ने गरेको छ। यसको जवाफ उनको आगामी पाइलाले दिने नै छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।