नेपालगन्ज– आगलागीबाट हुने जनधनको क्षति कम गर्न बाँकेको नरैनापुर गाउँपालिकाले वारुण यन्त्र (दमकल) खरिद गरेको छ। गाउँपालिकाले ५ हजार लिटर क्षमताको दमकल करिब ५१ लाख रुपैयाँमा खरिद गरेको हो।
भारतसँग सीमा जोडिएको नरैनापुर गाउँपालिका तराई क्षेत्र भएपनि यहाँ अझैसम्म सडक यातायातको भरपर्दाे सुविधा छैन। सडकको सहज पहुँच नहुदा गाउँमा आगलागी भएको खबर पुगेपनि नेपालगन्ज उपमहानगरपालिकाको वारुण यन्त्र समयमै घटनास्थलमा पुग्ने अवस्था थिएन।
आगो निभाउन जाने क्रममा खराब सडकका कारण दमकल फस्ने, बिग्रनेजस्ता समस्याहरु आउने गरेको वारुण यन्त्र शाखाका फायर म्यान अशोक कलवारले बताए। ‘जसकाकारण समयमै घटनास्थल पुग्न नसक्दा धेरै जनधनको क्षति हुने गरेको थियो।,’ फायर कलवारले भने, ‘अब नरैनापुर मै दमकल आएपछि त्यहाँका बासिन्दाहरुका लागि धेरै राम्रो भएको छ।’
गतवर्ष मात्रै नरैनापुर क्षेत्रमा भएका आगलागीका करिब १ दर्जन घटनामा ३ जनाको मृत्यु हुनुका साथै दर्जनौँ घरगोठ जलेर नष्ट भएका थिए।
५ नम्बर प्रदेशकै पिछडिएको गाउँपालिका मानिने नरैनापुरमा अधिकांश जनता गरिबीको रेखामुनि रहेको तथ्यांक छ। करिब ४० हजार जनसंख्या भएको नरैनापुरमा ९० प्रतिशतभन्दा बढी घरहरु कच्ची छन्। गाउँमा अझै विद्युत सेवा पुग्न सकेको छैन। अधिकांश घर तथा गोठहरु खर तथा टायलले छाउने गरेको र प्रचण्ड गर्मी हुने ठाउँ भएकोले पनि नरैनापुरमा बढी मात्रामा आगलागीका घटनाहरु हुने गरेको जानकारहरु बताउँछन्।
नरैनापुरवासीले विगत एक दशकदेखि गर्मीयाममा नरैनापुर क्षेत्रमा दमकल राख्ने व्यवस्था मिलाइदिन जिल्ला प्रशासन कार्यालय मार्फत नेपाल सरकार समक्ष माग गर्दै आएका गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले बताए। उनले भने, ‘तर नरैनापुरवासीको मागको सुनुवाइ भएको थिएन।’ आगालगी भएपछि राहत बाड्ने र सहानुभुति व्यक्त गर्ने बाहेक कुनै काम हुन सकेको थिएन।
स्थानिय तहमा जननिर्वाचित प्रतिनिधि आएपछि जनताको वर्षाैँदेखिको माग पुरा भएको भन्दै स्थानीय बासिन्दाले खुसी व्यक्त गरेका छन्।
गाउँपालिकाले खरिद गरेको दमकल गत बिहीबार नेपालगन्ज आइपुगको हो। नेपालगन्जबाट नरैनापुर जाने हुलाकी सडक हिलाम्मे भएका कारण दमकल नरैनापुर जान सक्ने अवस्था नभएपछि हाल जिल्ला प्रशासन कार्यालय, बाँकेको परिसरमा राखिएको छ।
सडकको अवस्था ठिक भएपछि दमकललाई नरैनापुर लगेर नेपाल प्रहरी, सशस्त्र प्रहरी बललगायतका सुरक्षा निकायहरुसँग समन्वय गरेर दमकल परिचालनको व्यवस्था मिलाइने अध्यक्ष शाहले बताए। सोपश्चात् आगलागीबाट हुने जनधनको क्षति कम हुने अध्यक्ष शाहले आशा व्यक्त गरे।
गत बैसाख १९ गते नरैनापुर गाउँपालिकाको जमुनी गाउँमा आगलागी हुँदा १६ वटा घर जलेर नष्ट भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।