काठमाडौं– नेपाली कलासाहित्य डटकम प्रतिष्ठानले २५६२औं बुद्ध जयन्तीको अवसरमा विशेष शान्ति कविता गोष्ठी आयोजना गरेको छ।
शुक्रबार नेपाल पर्यटन बोर्डमा आयोजित कार्यक्रममा १३ जना कविले शान्तिको विषयमा लेखिएका मानवतावादी र सामाजिक समानताका कविता सुनाए।
एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रायोजनमा भएको कार्यक्रममा अशेष मल्ल, सुलोचना मानन्धर, किशोर पहाडी, राजेन्द्र शलभ, शशी लुमुम्बू, साम्ब ढकाल, देवकी अभिलाषी, निमेष निखिल, सुनीता खनाल, जीवन खत्री, अमृता स्मृति, केशव सिग्देल र कविता राई गाउँले कविता वाचन गरेका थिए।
कार्यक्रममा साहित्य वार्षिक पत्रिका ‘कलाश्री’ र नेपाली कलासाहित्य डटकमको वेब पत्रिकाको नयाँ अंक सार्वजनिक गरियो। ‘कलाश्री’ पत्रिका मञ्चमा आसिन र दर्शकदीर्घामा उपस्थित सबैले एकसाथ लोकार्पण गरेका थिए।
‘कलाश्री’ मा प्रकाशित रचनामध्ये उत्कृष्ट ठहरिएको बलराम अधिकारीको निबन्ध ‘सुपेरियोरिटी कम्प्लेक्सको टुप्पोबाट’का लागि ११ हजार राशिको ‘एनएलजी कलाश्री सिर्जना पुरस्कार’ पनि अर्पण गरिएको थियो।
कार्यक्रममा प्रतिष्ठानका उपाध्यक्ष एवम् कवि राजेश्वर कार्कीले कार्यक्रमको उद्देश्यबारे प्रकाश पारेका थिए।
कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ कवि तथा संस्कृतिविद् तुलसी दिवसले सबैभन्दा कलात्मक भाषिक अभिव्यक्ति नै कविता भएको बताए। यस्तै, प्रतिष्ठानका अध्यक्ष कवि तथा निबन्धकार मोमिला जोशीले 8मा आपसी सद्भाव र प्रेम खट्किन थालेको भन्दै प्रेम, सद्भाव र शान्तिका लागि संस्थाले यस्तो कार्यक्रम आयोजना गर्ने गरेको बताइन्।
प्रतिष्ठानका संरक्षक विमल कोइराला, प्रथम मानार्थ सदस्य एस्पी कोइराला र एनएलजीका मानव संशाधन प्रमुख नौमिनाथ अधिकारीले ‘शान्ति कविता गोष्ठी’को महत्वबारे बोलेका थिए।
प्रतिष्ठान वार्षिक रुपमा बुद्ध जयन्तीको अवसरमा शान्ति कविता आयोजना गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।