काठमाडौं- माओवादी 'जनयुद्ध'को उत्कर्षकाल। श्री नयाँ गोरख गणमा कार्यरत टीका बोम्जन २८ जनाको टोलीसहित नगरकोट रिपिटर टावरको सुरक्षार्थ खटिएका थिए। नेपाली सेनाले केही सूचना पाइसकेकाले बोम्जन आफ्ना सहकर्मीसँगै हाई अलर्टमा थिए।
२०५९ मंसिर १३ गते राति ठिक ८ बजे माओवादी छापामारहरुले गोली छोडे। बिहान ४ बजेसम्म दोहोरो भिडन्त चलिइरह्यो। मानवीय क्षति त भएन तर भिडन्तमा दुवै पक्षले धेरै भौतिक क्षति बेहोर्नुपर्यो।
रातमा पटकपटक मृत्युको मुखमा पुगेर फर्किएको टोलीलाई बिहानीको उज्यालोले केही राहत दियो। रिपिटर टावरमा क्षति पुगेकाले अरु डफ्फासमेतको साथमा पुनर्निर्माणमा जुट्यो बोम्जनको टोली। सोही क्रममा रातभरको थकान र अनिँदोले थिलथिलो बनेका उनी एक्कासि चिप्लिए । दुवै हातले तार समाउन पुगे तर अफसोस! उक्त तार त हाइभोल्टेजको विद्युतीय तार रहेछ।
‘चिप्लिएर झरेपछि म अचेत भएछु,' उनी सम्झिन्छन्, ‘जतिबेला मेरो होस खुल्यो, त्यतिबेला वीरेन्द्र सैनिक अस्पतालको बेडमा देब्रे हात गुमाएर लडिरहेको थिएँ।'
— O —
सर्लाहीको राजघाटमा खाईखेली हुर्किएका बोम्जन विद्यालयका विभिन्न सांस्कृतिक कार्यक्रममा सहभागी बन्ने गर्थे। सानैदेखि गीतसंगीतमा रुचि राख्ने उनी २०५६ सालमा नेपाली सेनामा भर्ना हुन पुगे। द्वन्द्वकै समयमा सेनामा प्रवेश गरेका उनका लागि ठूलो चुनौती थियो। पाइलापाइलामा मृत्युको सामना गर्नुपर्ने अवस्था थियो।
नभन्दै उनले भयानक दुर्घटना बेहोर्नुपर्यो। त्यसबेला उनी २४ वर्षका लक्काजवान थिए। 'आफ्नो जागिरले परिवार सहजै चलिरहेको थियो। तर दुर्घटनापछि देब्रे हात गुमाउनुपर्दा अब जिन्दगी यतिकै सकिने भयो भनेर निकै हरेस खाइसकेको थिएँ,' उनी भन्छन्।
देब्रे हात त उनले गुमाइसकेका थिए। तर दाहिने हातमा पनि असर देखियो। डाक्टरहरुले औंला चलाउन लगाए, तर सकेनन्। बिस्तारै दुखाइ बढ्दै गयो। अन्तत: दाहिने हात पनि दुर्घटनाको हप्ता दिनपछि काटियो।
मुखले कलम च्यापेर लेख्दा
हात गुमाउनुको पीडा कम हुँदै गइरहेको थियो। उनले भौतिक तर बौद्धिक रुपमा अशक्त 8का अरु व्यक्तिहरुको जीवनकथा पढ्न थाले। रेडियो कार्यक्रम ‘मेरो कथा मेरो गीत’मा आफ्ना भावनाहरु पोख्न थाले। एक साथीमार्फत आफ्नो जीवनकथा नै सार्वजनिक गरे। त्यसबाट उनले निकै सकारात्मक प्रतिक्रिया पाए। अगाडि बढ्न निकै ऊर्जा दियो।
'हात नभए पनि आत्मबल जागेर आयो,' उनी भन्छन्, 'आफूमा भएको कला र संगीतमोह पुन:जागृत गरेर संगीत साधनाका लागि मानसिक रुपमा तयार भएँ।'
झमक घिमिरे, सुदर्शन गौतम जस्ता अपांगता भएका व्यक्तिले गरेका उदाहरणीय कार्य देखे। त्यसबाट प्रेरित भएका उनले दुवै हात नभए पनि कलम चलाउने निधो गरे।
जब दुवै ओठले कलम च्याप्न थाल्थे तर ओठ लरखराउँथ्यो। मुख दुख्न थालेपछि सकेनन्। तर निरन्तर सात दिनसम्म प्रयास गरिरहे। ‘जुन दिन ओठको सहारामा पहिलो पटक आफ्नो नाम कापीमा स्पष्ट लेख्न सकेँ। खुसीले आँसु थाम्नै सकिन,’ यसो भन्दा अहिले पनि उनको आँखा रसाउँछ।
जीवन– श्रीमती, भगवान्– श्रीमती
नेपाली सेनामा भर्ना भएकै अर्को वर्ष ०५७ सालमा उनको बिहे भयो। राष्ट्रसेवकको अनुशासित र कडा ड्युटीसँगै परिवारिक जीवनको गाडी पनि सहजै गुडिरहेको थियो। तर दुर्भाग्यवश पौरख गर्ने हातहरु गुमे। दुर्घटनापछि उनले जीवनदेखि नै हार खाएका थिए। ‘मर्ने रहर खुब जाग्यो। हस्पिटल बसाइमा धेरै पटक आत्महत्याको प्रयास पनि गरेँ,' उनी भन्छन्, 'तर मर्न लेखेको रहेनछ। श्रीमतीकै कारण ममा जीवनप्रतिको मोह जागेर आयो।
श्रीमतीकै हेरचाह, प्यार र साहाराले उनीबाट निराशा र हरेस टाढा हुँदै गयो। 'सोचे जस्तो गाह्रो भएन। श्रीमतीले दिएका हरेक साथले मलाई जीवनबोध गरायो। मेरो भगवान् नै श्रीमती हुन्। जीवन नै उनी।’
एकल साँझको तयारी
छाँगाबाट झरना झर्यो (कर्ण दास), मार्यो मलाई मार्यो (ईश्वर अमात्य), मेरी सानु (प्रमोद खरेल) लगायतका दर्जनौं हिट गीतका सर्जक बोम्जनले मुखमा कलम च्यापेरै तीन सयभन्दा बढी गीत लेखिसकेका छन्।
लेखनसँगै संगीत र गायनमा सक्रिय उनी आउँदो जेठ २८ गते आर्मी अफिसर्स क्लब काठमाडौंमा प्रस्तुत हुँदैछन्। उक्त एकल साँझमा संगीतका पारखीहरुलाई उनले संगीतले भिजाउनेछन्।
२०६० सालबाट कला र सिर्जनामा अनवरत लागिपरहका उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अवार्डसमेत उचालेका छन्। युनिक वर्ल्ड रेकर्डस्, एभरेस्ट आउटस्ट्यान्डिङ एचिभमेन्ट र मीराकल अवार्ड उनकै पोल्टामा परिसकेको छ।
तर आफूले संगीतमा गरेको कार्यको सही योगदान नभएकोमा भने उनको चित्त दुखेको छ। ओठमा कलम च्यापेर नेपाली सांगीतिक क्षेत्रका नयाँनयाँ गीत दिइरहेका उनी ठान्छन्— सर्जकलाई हुनुपर्ने जति सम्मान नेपालमा भइरहेको छैन।
अहिले एकल सांगीतिक साँझको तयारीमा व्यस्त छन् उनी। 'कुनै स्वार्थ र प्रतिफल प्राप्तिका लागि होइन,' उनी प्रस्ट्याउँछन्, 'संगीत क्षेत्रमा बितेका १५औं वसन्त र सिर्जना गरेका सयौं गीत पस्केर सन्तुष्टि लिन मात्रै चाहेको हुँ।'
संगीतसँगै सामाजिक र मानवीय सेवाको अर्को उद्देश्य पनि छ उनको। भन्छन्, 'एकल साँझबात प्राप्त आम्दानी मिर्गौलापीडित बिरामीहरुका लागि खर्च गर्नेछु। बाँकी 8सेवाका काम त छँदैछन्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।