भैरहवा- रुपन्देहीका युवा व्यवसायी तथा तत्कालीन नेकपा एमालेका युवा संघका जिल्ला अध्यक्ष दुर्गा तिवारी, नेकपा एमालेका सदस्य बसन्त पौडेल (बलु) को हत्या र नारायण बस्नेतको हत्या गर्ने उद्देश्यले गोली प्रहार गरेको आरोप पक्राउ परेका अभियुक्तहरुलाई जिल्ला अदालत रुपन्देहीले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।
दुई दिन चलेको थुनछेक बहसपछि जिल्ला अदालत रुपन्देहीका न्यायाधीश भोलानाथ ढकालको इजलासले अरोपित आठै जनालाई पुर्पक्षाका लागि थुनामा राख्न आदेश दिएको जिल्ला अदालत रुपन्देहीका श्रेस्तेदार सञ्जीव पोखरेलले बताए। तत्काल प्राप्तको प्रमाणको आधारमा प्रतिवादीहरुले कसुर गरेका होइनन् भन्न सकिने अवस्था मिसिल प्रमाणबाट नदेखिएको हुँदा पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको श्रेस्तेदार पोखरेलले बताए।
अभियुक्तहरुलाई मुलुकी ऐन अदालती बन्दोबस्त ११८ को देहाय २ बमोजिम ज्यान मार्ने उद्योग र संगठित अपराध निवारण ऐन २०७० को दफा ४१ बमोजिम पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको हो। उनका अनुसार मुद्दा फैसला नहुँदा सम्मका लागि अभियुक्तहरु थुनामा रहनेछन्।
तिवारी, पौडेलेको हत्या र बस्नेतको हत्या गर्ने उद्देश्यसहित गोली प्रहारको आरोपमा रुपन्देही प्रहरीले तत्कालीन नेकपा एमालेको युवा संघ रुपन्देहीको जिल्ला अध्यक्ष सुजु मल्ल, तत्कालीन माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, उत्तम आचार्य, विवेक गुरुङ, राम गुरुङ, तुल्सीराम न्यौपाने, रोशन खड्का र हरिप्रसाद श्रेष्ठ गरी ८ जनाविरुद्ध २ वटा संगठित रुपमा कर्तव्य ज्यान र २ वटा संगठित रुपमा ज्यान मार्ने उद्योग गरी ४ वटा मुद्दा जिल्ला अदालत रुपन्देहीमा दायर गरेको थियो।
वादीको तर्फबाट जिल्ला न्यायधिवक्ता कोशहरि निरौला र सहन्यायधिवक्ता कृष्णचन्द्र पाण्डेले थुनछेक बहस गरेका थिए। उनीहरुले इन्काउन्टरमा मारिएका मनोज पुनको साथबाट फेला परेको मेमोरी कार्डमा रहेको अडियो रेकर्डमा घटना सम्बन्धी प्रमाण रहेको कारण अभियुक्तहरुलाई थुनामा राखी कारवाही अगाडि बढाउन आदेश माग गरेका थिए।
प्रतिवादीहरुको तर्फबाट २० जना बढी अधिवक्ताहरुले गरेको बहसमा अभियुक्तहरुको एक अर्काबीच चिनजान नरहेको दाबी गर्दै प्रहरीले अभियुक्तहरु विरुद्ध अनावश्यक रुपमा संगठित अपराध अन्तर्गत मुद्दाहरु दायर गरेको आरोप लगाए। उनीहरुले प्रहरीले दायर गरेका मुद्दाहरुमा तथ्यगत प्रमाणहरु यथेष्ट नभएकाले थुनामा राख्न आवश्यक नरहेको जिकिर गरेका छन्।
प्रतिवादी पक्षका अभियुक्तहरुले मनोज पुनको साथबाट फेला परेको भनिएको मेमोरी कार्डमा रहेको अडियो रेकर्डको अभियुक्त र मनोज पुनबीच भएको भनिएको संवादको परीक्षणसमेत नभएको हुँदा अडियोमा पुनकै आवाज नहुन सक्ने दाबी गरेका थिए। केही प्रतिवादीका पक्षका अधिवक्ताहरुले अभियुक्तहरुको बचाउ गर्दै प्रहरीले दायर गरेको मुद्दाबाट अभियुक्तहरु राज्य आतंक र गुण्डा आंतकको मारमा परेको उल्लेख गर्दैै उनीहरु यो आंतबाट बच्नुपर्ने भन्दै साधारण तारेखमा छाड्न माग गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।