काठमाडौं– शुक्रबारबाट नेपाली हलहरुमा दुई नयाँ फिल्म प्रदर्शनमा आए, मट्टीमाला र चंगा। संयोग, दुवै फिल्मको मुख्य भूमिकामा छन् हास्य कलाकार बुद्धि तामाङ।
पृथ्वी राईको निर्माण तथा टेक पौरखीको निर्देशन रहेको सामाजिक कथावस्तुमा आधारित फिल्म मट्टीमाला र हास्य कलाकार किशोर भण्डारी (डिट्ठा साब) को निर्देशनमा बनेको हास्य विधाको चंगा हलमा लागिरहँदा कलाकार तामाङ भने बेखुस छन्।
‘मलाई त बहुत लाज लागेर आएको छ,' अर्को फिल्म सुटिङमा पोखरा पुगेका तामाङले भने, 'हप्तामा २ वटा अनि महिनामा ७–८ वटा फिल्म हलमा लाग्दा लाजले अनुहार लुकाएर हिँड्नु जस्तो लागेको छ।’
एकैसाथ एकै कलाकारको फिल्म रिलिज गर्ने प्रवृत्तिप्रति उनले असन्तुष्टि जनाए। 'मलाई मात्र होइन दर्शक सबैलाई घाटा भएको छ,' उनले भने।
एउटै कलाकारको अभिनय रहेका फिल्महरु एउटै मितिमा प्रदर्शनमा ल्याउनेमा निर्माता र निर्देशकको सबैभन्दा बढी भूमिका हुने गर्छ। जसका कारण आफूहरुलाई समेत घाटा हुने गरेको सम्बन्धित कलाकार बताउँछन्।
नेपाली फिल्म बजारमा हप्तामा दुईभन्दा बढी फिल्म प्रदर्शनमा आउने गरेका छन्। तर यसको प्रत्यक्ष असर फिल्म निर्माता र कलाकारहरुलाई नै पर्ने गरेको छ।
अभिनेत्री प्रियंका कार्की अभिनित फिल्म ह्याप्पी डेज र कोहलपुर एक्सप्रेस पनि एकसाथ प्रदर्शनमा आएका थिए। सो हप्ता प्रियंकाकै अभिनयमा रहेका अन्य दुई फिल्म लिलिबिली र शत्रुगते पनि हलमा लागेका थिए।
यसरी एकै हप्ता एउटै कलाकारको अभिनयमा रहेका फिल्महरु प्रदर्शनमा आउनुले दर्शकहरुलाई समेत समस्या पर्ने गरेको छ। हप्ताको एक दिन फुर्सद मिलाएर मनोरञ्जनका लागि दर्शक हल पुग्ने गरेका हुन्छन्। तर एउटै कलाकारका २–४ वटा फिल्महरु स्क्रिनमा लाग्नुले दर्शकको रोजाइ र फिल्मको छनोटमा अन्योल हुने गर्छ। यसको बजारको व्यापारमा समेत असर गर्ने गरेको छ।
संयोग मात्रै कि अरु केही
अभिनेत्री प्रियंका कार्की भने कलाकारको इच्छाविपरीत एकै कलाकारका फिल्म हलमा जुधाउने गरेको बताउँछिन्।
'प्रदर्शन मिति सुरुमा तय नगर्ने र पछि एकसाथ प्रदर्शन गर्नाले दर्शक, कलाकार र सम्पूर्ण सिनेबजारमा नै असर पर्छ,' उनले भनिन्।
निर्देशक मिलन चाम्स पनि फिल्मका स्टारकास्ट एउटै भएका फिल्मको प्रदर्शन मिति जुध्नु फिल्म बजारका अहितकारी हुने बताउँछन्। 'सबैतिरबाट घाटा हुने भए पनि निर्माता र निर्देशकको कमजोरीले यस्तो हुने गरेको छ,' उनले भने।
फिल्म जुध्नुमा जति निर्देशक निर्माताको दोष देखिन्छ, यसमा कलाकारको पनि थोरबहुत भूमिका देखिन्छ। कलाकारहरु एकै फिल्ममा मात्र काम गरिरहेका हुँदैनन्। सानो फिल्म बजार भएको हाम्रो जस्तो देशमा धेरै फिल्ममा काम गर्नुपर्ने बाध्यता छ।
फिल्ममा कलाकारको अनुबन्ध र रिलिज मितिबरे निर्देशक निर्माता र कलाकारबीच छलफल नभएसम्म समस्या जहाँको त्यहीँ रहने चाम्स बताउँछन्। 'निर्माता निर्देशक, कलाकार र वितरक समेत गम्भीर बन्नुपर्छ,' उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।