कैलाली– नेपाल आयल निगम सुदूरपश्चिमाञ्चल क्षेत्रीय कार्यालय धनगढीले पेट्रोलियम पदार्थको ट्यांकरमा सुरक्षात्मक लकिङ प्रणालीको सुरुवात गरेको छ।
यसअघि ट्यांकरहरुले सामान्य सिल गरेर इन्धन बोक्ने गरे पनि उक्त सिल भरपर्दो नहुने र बाटोमा चोरीको सम्भावना भएकाले निगमले लकिङ प्रणाली ल्याएको हो। लकिङ प्रणाली यसअघि झापामा पनि प्रयोगमा ल्याइसकिएको छ।
बिहीबार कैलालीका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीले इन्डियन आयल कर्पोरेसन (आइओसी)को बन्थरा डिपोबाट इन्धन बोकेर आएका ट्यांकरको ताला खोलेर यो प्रणालीको उद्घाटन गरे।
उद्घाटनपछि उनले लकिङ प्रणाली निगम र व्यवसायीको हितमा रहेको र आन्तरिक सुधारको महत्वपूर्ण कडी भएकाले यसलाई सबैले साथ दिनुपर्ने बताए।
पेट्रोलियम डिलर्स एसोसिएसनका क्षेत्रीय सह–सचिव टेकराज जोशीले लकिङ प्रणालीलाई व्यवसायीहरुले सकारात्मक रुपमा लिएको भन्दै आइओसीबाट निगमको डिपोमा ल्याउँदा मात्र नभई डिपोबाट पेट्रोलपम्पसम्म पनि यही सुरक्षा अपनाएर लैजान सके थप प्रभावकारी हुने बताए।
नेपाल आयल निगम केन्द्रीय कार्यालयका प्रवक्ता एवं आपूर्ति विभागका निर्देशक वीरेन्द्र गोइतले नयाँ लकिङ प्रणालीले इन्धनको चुहावट शत प्रतिशत रोक्ने भएकाले यसलाई व्यवस्थित बनाएर लैजान सबैको साथ–सहयोग आवश्यक रहेको बताए । उनले ट्यांकर चालक तथा सहचालकहरुले ढुवानी गर्ने क्रममा बीच बाटैमा चोरी तथा तस्करी गर्ने आरोप लाग्न थालेपछि नियन्त्रण गर्न यो प्रणाली सुरु गरिएको बताए।
ट्यांकर तत्काल उपलब्ध हुँदैन : प्रवक्ता गोइत
प्रदेश नम्बर ७ मा पेट्रोलियम पदार्थको माग बढ्दै गएको र ट्यांकर अभावले आपूर्ति असहज भएको बेला निगमका आपूर्ति विभागका निर्देशक गोइतले भने तत्काल ट्यांकर उपलब्ध नहुने बताएका छन्।
निगमको क्षेत्रीय कार्यालय धनगढीले ट्यांकर अभावकै कारण आपूर्ति असहज भएको भन्दै ट्यांकरका लागि केन्द्रसँग माग गरिएको जनाएको थियो।
अहिले भएका ट्यांकर पर्याप्त नहुँदा बेलाबेला ७ नम्बर प्रदेशमा पेट्रोलियम प्रदार्थ अभाव हुँदै आए पनि निर्देशक गोइतले पत्रकारलाई प्रतिक्रिया दिँदै यस क्षेत्रमा कहिले पनि अभाव नभएको दाबी गर्दै ट्यांकर पनि आवश्यक नभएको बताए।
आयल निगम क्षेत्रीय कार्यालय धनगढीसँग अहिले ६७ वटा मात्रै ट्यांकर छन्। त्यसमध्ये २० हजार लिटरका ६० वटा र १२ हजार लिटरका सात वटा छन्।
विगतको आवश्यकता अनुसार सञ्चालनमा रहेका यति ट्यांकरले ७ नम्बर प्रदेशभरि इन्धन वितरणमा समस्या देखिँदै आएको छ। त्यसैले थप ३० ट्यांकरको आवश्यकता देखिएको निगमको क्षेत्रीय कार्यालयले जनाएको छ।
क्षेत्रीय कार्यालयका प्रमुख शिवराज भण्डारीले ट्यांकरका लागि केन्द्रीय कार्यालयमा गत फागुनमा लिखित माग गरिएको बताए पनि केन्द्रीय कार्यालयका प्रवक्ता गोइतले मागपत्रबारे कुनै जानकारी नै नआएको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।