भैरहवा– रुपन्देहीका युवा दुर्गा तिवारी र वसन्त पौडेल (बलु) को हत्या र नारायण बस्नेतको हत्या गर्ने उद्देश्यसहित गोली प्रहार गरेको आरोपमा पक्राउ परेका अभियुक्तहरु विरुद्ध जिल्ला अदालत रुपन्देहीमा थुनछेक बहस बिहीबारदेखि सुरु भएको छ।
न्यायाधीश भोलानाथ ढकालको एकल इजलासमा सुरु भएको थुनछेक बहस नसकिएकाले शुक्रबारका लागि तोकिएको जिल्ला अदालत प्रशासन शाखाका अधिकृत गंगाप्रसाद अधिकारीले जानकारी दिए।
तिवारी र बलुको हत्या र बस्नेतको हत्या गर्ने उद्देश्यसहित गोली प्रहारको आरोपमा रुपन्देही प्रहरीले तत्कालीन नेकपा एमालेको युवा संघ रुपन्देहीका जिल्ला अध्यक्ष सुजु मल्ल, पूर्व माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपाने, उत्तम आचार्य, विवेक गुरुङ, राम गुरुङ, तुल्सीराम न्यौपाने, रोशन खड्का र हरिप्रसाद श्रेष्ठलाई पक्राउ गरेको थियो। उनीहरु विरुद्ध संगठित रुपमा कर्तव्य ज्यान दुई वटा र संगठित रुपमा ज्यान मार्ने उद्योग दुई वटा गरी ४ वटा मुद्दामा बहस सुरु भएको हो।
सरकारका तर्फबाट जिल्ला न्यायाधिवक्ता कोशहरि निरौला र न्यायाधिवक्ता कृष्णचन्द्र पाण्डेले थुनछेक बहस गरेका थिए। बहसका क्रममा उनीहरुले प्रहरी इन्काउन्टरमा मारिएका मनोज पुनको साथबाट फेला परेको मेमोरी कार्डमा रहेको अडियो रेकर्ड घटनाको प्रमाण रहेकाले अभियुक्तहरुलाई थुनामा राखी कारबाही अगाडि बढाउनुपर्ने आदेश माग गरेका थिए।
उनीहरुले अभियुक्तहरुको मनोज पुनलाई सूचना दिने, तिवारी, पौडेलको हत्याकाण्ड र बस्नेतमाथि भएको गोलीप्रहार घटनामा संलग्नता रहेको र 8मा आतंक सिर्जना गराउने भूमिका रहेकाले तारेखमा छोड्न नमिल्ने उल्लेख गरे।
त्यस्तै, ८ जना अभियुक्तमध्ये सुजु मल्ल, लेखनाथ न्यौपाने र उत्तम आचार्यको तर्फबाट आधा दर्जनभन्दा बढी अधिवक्ताले बहस गर्दै अभियोगपत्र अनुसार अभियुक्तहरु दोषी नदेखिएकाले साधारण तारेखमा छाड्न माग गरेका थिए। उनीहरुले प्रहरीले दायर गरेका मुद्दाहरुमा तथ्यगत प्रमाणहरु यथेष्ट नभएकाले थुनामा राख्न आवश्यक नरहेको जिकिर गरे।
उनीहरुले प्रहरीले मुख्य प्रमाणको रुपमा अदालतमा पेश गरेको मेमोरी कार्ड पुनको साथबाट फेला परेको बताए पनि फेला परेको मुचुल्का नहुँदा शंकास्पद रहेको उल्लेख गरे। सञ्चारको युगमा अडियोमा सुनिएको आवाज नक्कल गरेर उतारेको समेत हुनसक्ने उनीहरुले जिकिर गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।