काठमाडौं– नाटकीय शैलीमा चामल र मदिरा ठगी कार्यमा संलग्न दुई जना पक्राउ परेका छन्।
रामेछापका कुमार चौहान र सिन्धुपाल्चोकका भूपेन्द्र बाँनियालाई महानगरीय अपराध महाशाखाले पक्राउ गरेको हो। उनीहरुले महोत्तरीको औरहीस्थित अमन खाद्य स्टोरबाट १ सय ५६ बोरा चामल फोनमार्फत मगाएका थिए। त्यसमध्ये एक सय १५ बोरा पेप्सीकोलास्थित सटरमा झार्न लगाए। बाँकी चामल सुकेधारामा झार्नुपर्ने र त्यही पैसा दिने भन्दै बोलाएका थिए।
सोही अनुसार सो खाद्य स्टोरका मालिक गोविन्द चौधरी गाडीमा चामल लिएर सुकेधारा पुगे। त्यहाँ जाँदा चामल मगाउने व्यक्तिहरुको मोबाइल स्विच अफ थियो।
उनीहरुमाथि शंका लागेर चौधरी पहिला चामल झारेको ठाउँ पेप्सीकोला पुगे। त्यहाँ पुग्दा एक सय १५ बोरा चामल गायब भइसकेको थियो। जुन चामल २ लाख ५३ हजार रुपैयाँ बराबरको थियो। चामल मगाउनेहरुको मोबाइल अझै अफ नै थियो। उनीहरु ठग भएको उजुरीसहित पीडित चौधरी अपराध महाशाखा पुगेका हुन्।
महाशाखाले अनुसन्धान गरी त्यसरी ठगीमा संलग्न चौहान र बाँनियालाई पक्राउ गरेको हो। अनुसन्धान गर्ने क्रममा त्यसैगरी विशाल ट्रेडर्सका सञ्चालक रविन्द्र गौचनलाई ५ लाख रुपैयाँ ठगी गरेको खुल्न आएको अपराध महाशाखाका एसपी नरेन्द्र उप्रेतीले बताए।
पक्राउ परेका दुवैलाई ठगी मुद्दामा प्रहरीले कारबाही अघि बढाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।