वसन्त थकाली : एक गुमनाम गायक

Nepal Live

पोखरा- पृथ्वीचोकमा एउटा क्लब छ, सहारा क्लब। यो नेपाली खेलकुदलाई माया गर्नेले नसुनेको नाम होइन।

पोखरामा फुटबललाई लोभलाग्दो तवरले अघि बढाइरहेको यस क्लबले नेपाली खेलकुद जगतमै योगदान गरेको छ। सहारा क्लब अहिले नेपालमा मात्रै सीमित छैन। यसको दायरा फराकिलो भएर विदेशमा पनि शाखा क्लब खुलेका छन्।

क्लबले धेरै समय अगाडिबाट खेलाडीलाई प्रशिक्षण पनि दिँदै आएको छ। तिनै खेलाडीको जमघट हुने पोखरा रंगशालामा खेल क्षेत्रबारे सिकाउँदै गरेका एउटा मझौला कद, परिपक्व र आत्मविश्वासी व्यक्ति भेटिन्छन्। उनी हुन्, वसन्त थकाली। वसन्त सहारा क्लब पोखराका संस्थापक अध्यक्षसमेत हुन्। उनको अगुवाईमा खुलेको हो सहारा क्लब। 

पोखरामै जन्मेका थकालीलार्ई आजको पुस्ताले सबै पाटोबाट चिन्दैन, चिने पनि खेल प्रशिक्षकका रुपमा मात्र चिन्छ। धेरैले चिने खेलाडीका रुपमा चिन्छन्। तर, उनी कुनै बेलाका चर्चित लोक गायक हुन्। उनले स्वर सम्राट नारायण गोपाल, गोपाल योञ्जन लगायतसँग एउटै एल्बमका लागि काम गरेका छन्। 

खेल क्षेत्रमा आउनुअघि नै संगीत क्षेत्रमा लागिसकेका थिए, वसन्त।

बच्चैदेखि आफूलाई खेलकुद, नृत्य र गीतमा रुची भएको थकाली बताउँछन्। उनी सम्झन्छन्, ‘पढाइमा पनि राम्रै थिएँ, तर नाच्ने गाउने कुरा निस्कियो कि मेरो नाम आइहाल्थ्यो। तर त्यतिन्जेलसम्म पनि सोचिसकेको थिइनँ कुनै दिन खेल खेल्नेछु र खेलाडी बन्नेछु या गीत गाउनेछु र गायक बन्नेछु।’ 

जन्मस्थान ढिकुरपोखरीबाट पोखरा आइसकेपछि भने उनको संगत नाच्ने गाउनेहरुसँग भयो। साथीसँगको माहोलले आफूलाई गीत, संगीतमा लाग्न प्रेरित गरेको उनले बताए। 

‘त्यतिबेला गीत संगीतमा रुचि भए पनि अहिलेको जस्तो गाउन सजिलो थिएन। त्यसताका रेडियो नेपालमा पनि गाउन गाह्रो हुन्थ्यो,’ उनले सम्झिए, ‘एउटै गीत रेकर्ड गर्न दिनभरि लाग्थ्यो। एउटा बाजाले बीचमा ‘मिस्टेक’ खाए सुरुदेखि नै गर्नुपथ्र्यो।’

उनका अनुसार त्यसबेला म्युजिक क्षेत्रमै मात्र लागेर केही गर्छु भन्ने अवस्था थिएन। ‘रहरले गीत गाउँदै हिँडिन्थ्यो,’ उनले भने, ‘त्यति बेला एउटा मात्र गीत रेकर्डिङ स्टुडियो थियो, रत्न रेकर्डिङ संस्थान।’

थकाली कुनै बेला ‘घर त पोखरा, तिम्रो पो सबै छन् मेरो को छ र’ बोलको गीतबाट नेपाली संगीत क्षेत्रमा चर्चामा आए। उनको पहिलो गीत नै त्यही थियो– रेकर्डेड। ‘रत्न रेकर्डिङ संस्थानबाट पहिलो पटक यही गीत रेकर्ड गरेर सांगीतिक दुनियाँमा प्रवेश गरें,’ उनले भने। 

पोखरामा त्यतिबेला रत्न रेकर्डिङ संस्थानले तत्कालीन पश्चिमाञ्चल लोकगीत सम्मेलन गरेको थियो, २०४० सालमा। त्यहाँ उनले पनि भाग लिए। लोकगीत प्रतियोगिता पनि भएको थियो। जसमा २५–३० प्रतियोगी थिए। त्यसबाट १० जना छानेर काठमाडौं लैजाने भनिएको थियो। 

‘काठमाडौं जाने टप १० मा म पनि परेको थिएँ। र त्यतैबाट मैले गीत रेकर्ड गरेको थिएँ,’ उनले पहिलो गीत रेकर्डिङको कथा सुनाए।

वसन्तलाई पहिलेका कलाकार नै वास्तविक कलाकार लाग्छन्। अहिले प्रविधिले धेरै सहयोग गरे पनि मौलिकपनमा ह्रास आएको उनको ठम्याइ छ। ‘अहिलेका त के कलाकार? एउटा कम्प्युटरले नै कलाकार बनाइदिन्छ,’ उनी भन्छन्, ‘अहिले संगीतमा कसैको मतलव नै छैन। आजभोलि गाएको हेर्दा एक छिनका लागि रमाइलो गरेजस्तो लाग्छ।’ 

अहिलेका कलाकार सिरियस नहुनुमा मिडियाले राम्रो गीतसंगीत चिन्न नसक्नु पनि एउटा कारण भएको उनको बुझाइ छ। ‘गीत चल्नु भनेको मिडियामा धेरै बज्नु हो भन्ने भान स्रोतालाई छ,’ यस विषयमा उनी खिन्न छन्, ‘जति धेरै बज्यो, उति धेरै चर्चित हुन्छ भन्ने धारणा बदलिनुपर्छ।’ 

गीतसंगीतकै लागि थकालीले पढाइ छोडे। खेलकुद छोडे। बालापनका साथी छोडे। घर छोडे। जिल्ला छोडे। र, पुगे काठमाडौं।

काठमाडौंमा रहँदा नारायण गोपाल, गोपाल योञ्जन, पूर्ण नेपाली लगायतका संगीत क्षेत्रका हस्तीसँग संगत गर्ने मौका पाए उनले। ‘नारायण दाइ भन्दा पनि गोपाल दाईसँग मेरो धेरै संगत भयो। मान्छे मजाको हुनुहुन्थ्यो। सरल र मिलनसार भावना थियो उहाँमा,’ उनले गोपाल योञ्जनसँगको समित्यता सुनाए, ‘संगीतमा हुनुपर्ने सबै गुण योञ्जन दाइमा थियो। अब कोही अर्को योञ्जन जन्मिन सक्दैन।’ 

२०४२ सालसम्म उनी राजधानीमै निरन्तर संगीत क्षेत्रमा लागे। त्यसताका उनलाई आर्थिक समस्याले सताउनु सतायो। गीत भनेर पढाइ छोडेका उनीसँग फेरि अर्थकै लागि गीत छोड्नुबाहेक अर्को उपाय थिएन। किनभने, उनलाई यकिन भइसकेको थियो, गाएर मात्र जीवन चल्दैन। गायक मात्रै बन्नु छैन जीवनमा।

‘पति’ बन्न्नु थियो। ‘बा’ बन्नु थियो। ‘काका’ बन्नु थियो। ‘मामा’ बन्नु थियो। यस्तै धेरैथोक बन्नु थियो जीवनमा। ती सबै सम्बन्धको जिम्मेवारी पूरा गर्नु पनि छँदै थियो। 
त्यसैले उनी पोखरा फर्किए र व्यवसायतिर लागे। व्यवसायमा लागेर लामो समय चुपचाप बसे, गुमनाम बसे।

गायन क्षेत्र हापेर बसिरहेका बेला २०४६ सालमा एक पटक तत्कालीन राजा वीरेन्द्र पोखरा आएका थिए। त्यति बेला एउटा गीत एनटिभीका लागि गाए। गीत थियो, ‘माया सलल...’ बोलको। तर अहिले त्यो बज्दैन। कतै पनि छैन। थकालीको मनपर्ने गीतमध्ये त्यो पनि एक थियो।

‘गुणस्तरीय रेकर्डको सुविधा नभएका कारण पछि बजाउनै मिलेन भन्दै फालिदिए,’ उनी सम्झन्छन्।

गीत गाएर जीवन धान्न सक्ने अवस्था त्यो बेला भएको भए आफू व्यवसाय वा खेलकुदमा नआउने उनी सुनाउँछन्। उनले गीत संगीत छोडेर बसेको २९ वर्ष भइसकेको छ। 

थकाली अहिले भने एउटा स्वदेश गान रेकर्डिङको तयारीमा छन्। गत वैशाखमा उनले पोखरामा अनाथ बालबालिकाको सहयोगार्थ पहिलो एकल साँझसमेत गरे।

‘बुढेसकालले छोयो। अब सबैतिर भ्याउन सक्दिनँ, बरु खेलकुद र गीत दुवैतिर पार्टटाइम जस्तो केही गर्छु,’ उनले आफ्नो योजना सुनाए।

विकास मगर

पत्रकार मगर नेपाल लाइभका कास्की संवाददाता हुन्

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार