बुटवल– प्रदेश ५ को मन्त्रिपरिषद्को बैठकले ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ सञ्चालनका लागि प्रदेशमा मानव विकास सुचकांकमा पछाडी परेका ३५ गाउँपालिका छनौट गरेको छ। प्रदेश अन्तर्गतका उच्च पहाडी, मध्य पहाडी र तराईका गरी १२ जिल्लामा मानव विकास सुचकांकमा पछाडी परेका ३५ गाउँपालिकामा ‘मुख्यमन्त्री ग्रामीण विकास कार्यक्रम’ लागु गर्ने भएको हो।
बुधबार साँझ मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकले छनौट गरेका गाउँपालिकामा नवलपरासीका सुस्ता, प्रतापपुर र पाल्ही नन्दन, रुपन्देहीका मर्चवारी, समरीमाई र कोटहीमाई, पाल्पाका निस्दी, माथागढी र रैनादेवी छहरा, गुल्मीका कालिगण्डकी, मालिका र मदाने, अर्घाखाँचीका पाणिनी, मालारानी र छत्रदेव, कपिलवस्तुका विजयनगर, शुद्धोधन र महाराजगञ्ज, दाङका बंगलाचुली, राजापुर र बबई, प्युठानका गौमुखी, नौबहिनी र ऐरावति, रोल्पाका सुनछहरी, थवाङ र परिवर्तन, रुकुम पुर्वका सबै गाउँपालिका पुथा उत्तरगंगा, भुमे र सिस्ने, बाँकेका नरेनापुर, डुडुवा र जानकी तथा बर्दियाका बढैया ताल र गेरुवा रहेका छन्।
छनौट भएका गाउँपालिकामा ३ वर्षसम्म प्रदेश सरकारले शिक्षा र स्वास्थ्यका क्षेत्रमा महत्वपुर्ण कार्यक्रम सञ्चालन गर्नुका साथै रोजगारीका अवसर सिर्जना गर्ने बैठकपछी प्रदेश सरकारका प्रवक्ता एवम् भौतिक योजना तथा पुर्वाधार विकास मन्त्री बैजनाथ चौधरीले जानकारी दिए।
छनौट भएका गाउँपालिकामा ३ वर्षसम्म प्रदेश सरकारले दिने समानिकरण अनुदानमा विशेष व्यवस्था गर्ने र प्रदेश सरकारले युनिट नै स्थापना गरी काम गर्ने पनि मन्त्री चौधरीले बताए। बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री चौहरीले छनौट भएका गाउँपालिकामा ३ वर्षसम्म प्रदेश सरकारले दिने समानीकरण अनुदानमा विशेष व्यवस्था गर्ने र प्रदेश सरकारले युनिट नै स्थापना गरी काम गर्ने जानकारी दिए।
यस्तै मन्त्रिपरिषद्को बैठकले प्रदेशको वित्त व्यवस्थापन विधेयक २०७५ र प्रदेश कर तथा गैह्रकर राजश्व सम्बन्धि विधेयक २०७५ लाई स्विकृत गर्दै प्रदेशसभामा पेश गर्ने निर्णय गरेको छ।
बैठकले वित्त व्यवस्थापन र प्रदेश कर तथा गैह्रकर राजश्व सम्बन्धि विधेयक स्विकृत गरी आज बस्ने प्रदेशसभा बैठकमा पेश गर्ने निणर्य गरेको हो। यी दुई विधेयक बजेट आउनुअघि नै प्रदेशसभाबाट पारित भई प्रदेश प्रमुखबाट प्रमाणिकरण भईसक्नु पर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।