काठमाडौं- व्यक्तिगत लगानीकर्ताका लागि निर्धारण गरिएको बोनस र हकप्रदको लाभकर गणनाप्रति असन्तुष्टि जनाउँदै आन्दोलनमा उत्रिएका सेयर लगानीकर्ताको माग वैज्ञानिक भएको अर्थ मन्त्रालयले जनाएको छ।
बजेटमार्फत पुँजी बजारका सम्बन्धमा लाभकर लगाएपछि सेयर लगानीकर्ताले मंगलबार र बुधबार आधा समय सेयर कारोबार ठप्प पारेका थिए।
मन्त्रालयका प्रवक्ता झक्कप्रसाद आचार्यले लगानीकर्ताले राखेको केही माग उचित भएको बताएका छन्। ‘लगानीकर्ता उठाएका केही माग उचित छन्,' उनले भने, 'त्यसलाई मन्त्रालयले अध्ययन गरी आवश्यक पहिचान गर्नेछ।'
उनले आन्तरिक राजस्व विभागले आफ्नो अधिकारको प्रयोग गरेर करको दायरा बढाएको बताए। सरकारले मंगलबार अर्थमन्त्रालयका सहसचिव उत्तरकुमार खत्रीको संयोजकत्वमा १५ दिनभित्र प्रतिवेदन बुझाउने गरी अध्ययन समिति बनाएको छ। सो समितिको प्रतिवेदन नआएसम्म पुरानै विधिबाट लाभकर गणना गर्ने व्यवस्था गर्न आन्तरिक राजस्व विभागलाई पत्र पठाएको उनले बताए।
संयोजक खत्रीले भने अध्ययन प्रतिवेदन नआएसम्मका लागि पहिलेकै आधारमा कारोबार गर्ने बताए। उनले भने, ‘हामी यसबारे आवश्यक अध्ययन गरेर आवश्यक प्रतिवेदन ल्याउछौं। त्यही अनुसार मन्त्रालयले निर्णय गर्छ।’
यता सेयर लगानीकर्ताहरुको छाता संगठन इन्भेस्टर फोरमका अध्यक्ष अम्बिकाप्रसाद पौडेलले सरकारले पुँजीगत लाभकर स्थगन गरेसँगै कारोबार खुलेको बताए। आइतबार र सोमबार दुई दिन भएको सेयर कारोबार पुरानै आधारमा सेटलमेन्ट गर्ने उनले बताए।
विभागले जेठ १८ गते बोनस र हकप्रद सेयरमा पनि अंकित मूल्यका आधारमा लाभकर गणना गर्न निर्देशन दिएको थियो। उक्त पुँजीगत लाभकर अव्यावहारिक बनाएको भन्दै असन्तुष्टि जनाएका लगानीकर्ताले मंगलबार र बुधबार आधा समय सेयर कारोबार ठप्प पारेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।