ad

बाँदरमुढे घटनाका १३ वर्ष : पीडित भन्छन्- न्याय पाउने आसै मर्‍यो

SHARES
Nepal Live

काठमाडौं- २०६२ जेठ २३ मा चितवनको गोविन्दबस्ती बगई (माडी) बाट भरतपुरका लागि छुटेको यात्रुबसमा तत्कालीन विद्रोही माओवादीले बाँदरमुढेमा बम विस्फोट गराउँदा ३८ जनाको घटनास्थलमै मृत्यु भएको थियो। त्यो घटनामा घाइते भएका ७२ मध्ये ४ जनाको पछि उपचारका क्रममा निधन भएको थियो। घटना गराउने माओवादी युद्धपछि शान्तिमा आई विभिन्न दलमा विभाजित हुँदै मूल हाँगो भने नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनिसकेको छ। तर, १३ वर्ष बितिसक्दा समेत उक्त घटनाबारे सत्य-तथ्य छानबिन भई दोषीले सजाय पाएका छैनन्।

पूर्व माओवादीका अध्यक्ष एवं नेकपाका एक अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गत निर्वाचनको समयमा बाँदरमुढे घटना 'जनयुद्ध'मा भएको सबैभन्दा ठूलो गल्ती भन्दै बाँदरमुढेका जनतासँग माफी मागे। उनले चितवनमा आफू निकट पार्टीका कार्यकर्तालाई जम्मा गर्दै आफ्नो सरकार बने लगत्तै बाँदरमुढे घटनाका पीडित परिवारलाई सम्मान हुनेगरी सम्बोधन गर्ने सहमती पनि गरे।

दाहालको उक्त सहमतिपछि पीडितहरु दुई धारमा विभाजित भए। उनले न्याय र पीडितलाई परिपूरण दिने कुरा लिखित प्रतिबद्धतामै उल्लेख गरे। तर, उनले निर्वाचन जितेर काठमाडौं आएको पनि ६ महिना बितेको छ। उनी नै अध्यक्ष रहेको नेकपा सरकारमा छ।

यसैबीच, माघ ११ मा तत्कालीन शेरबहादुर देउवा सरकारले बाँदरमुढे घटनामा मृत्यु भएका सबैलाई सहिद घोषणा गर्‍यो। तर, सहिद मात्र नभई उक्त घटनाका दोषीलाई सजाय गर्ने र पीडित परिवारलाई न्याय दिने कुरा हालसम्म नभएको बाँदरमुढे घटना पीडित संर्घष समितिका उपाध्यक्ष कृष्ण अधिकारी बताउँछन्।

निर्वाचन नताका प्रचण्डको सहमतिमा सहभागी भएका एक पीडित सुदीप निउरेले उक्त घटनामा ज्यान गुमाएकी आफ्नी दिदी डिला निउरे र भाञ्जा निश्चल सापकोटालाई सम्झँदै माओवादीले धोका दिएको बताए।

‘जुन माओवादीको समूहले पीडित र माओवादीको केन्द्रीय तहबीच सिधा वास्तविक कुरा राख्न १३ वर्षदेखि रोकेको थियो अहिले फेरि उही समूह अहिले सक्रिय छ,’ उनले सामाजिक सञ्चालमा समेत लेखेका छन् ‘निर्वाचनको समयमा सहमती गराउने प्रयास गरेकोमा म आफू दुरुपयोग भएको अनुभव भएको छ।’

उपाध्यक्ष अधिकारीले सर्वसाधारण चढेको बसमा विस्फोट गराई सामूहिक हत्या गराउनेको पहिचान गरियोस् र उनीहरूमाथि कानुनी कारबाही होस् भनी आफूहरुले सामूहिक रुपमा काठमाडौंमा दिएको उजुरी बेवारिसे भएको बताए। युद्धमा सहभागी नभएका सर्वसाधारणलाई किन मारिएको हो, त्यसको सत्य जान्न पाऊँ भन्दाभन्दै यत्तिका वर्ष बितेको तर पनि केही नपाएको उनले गुनासो गरे।

सर्वसाधारण चढेको बसमा बम विस्फोट गराई हत्या गर्ने माओवादी कार्यकर्ता र आदेश दिने माओवादी नेतालाई समेत कारबाही माग गर्दै बाँदरमुढे पीडित संघर्ष समितिले ५७ वटा उजुरी दर्ता गराएका थिए।

स्थानीय शान्ति समितिको कार्यालय चितवनमा उजुरी दर्ता गराउँदा असुरक्षा महसुस भएर उनीहरुले आयोग केन्द्रीय कार्यालयमा उजुरी गरे पनि अहिलेसम्म आउँदा न्याय पाउने आस नरहेको अधिकारीले बताए।

पीडितको उजुरीमा माओवादीका तत्कालीन अध्यक्ष प्रचण्ड, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, वनमन्त्री शक्ति बस्नेत लगायत तत्कालीन नेतृत्व र चितवनका नेतालाई कारबाही माग गरिएको छ।

बम विस्फोटमा संलग्न भएको आरोप लागेका अनक मगर शान्ति समितिमा सदस्य हुनेदेखि पार्टीको पहुँचको स्थानमा रहेको भन्दै विभिन्न समयमा सहमति र माफी मागेर माओवादीले नाटक गर्दै पीडितलाई धोकामा राख्ने गरेको बताए।

घटनाको समय जिल्ला इन्चार्ज रहेका घनश्याम दाहाल शान्ति समिति सदस्य भएका थिए। तर, पीडितहरुको विरोधपछि उनले राजीनामा दिएका थिए। त्यसपछि सदस्य बनेका मगरमाथि पनि विस्फोट कार्यमै संलग्न भएको आरोप छ।

अधिकारी भन्छन्, ‘दलहरूको रवैया र आयोगको काम गराई हेर्दा न्याय पाउने आशा त छैन, तर आफूमाथि भएको अन्यायमा कसरी चुप लागेर बस्नु र? यही कुराले पिरोलिरहन्छ।’

२०६२ जेठ २३ को बिहान भिख्नाठोरीबाट छुटेको शालीग्राम ट्राभल्सको बसमा बगई गाउँ पुग्दासम्म करिब १ सय २० यात्रु चढिसकेका थिए। महिला, बच्चा र वृद्ध बसभित्र थिए भने करिब ५०-६० को हाराहारीमा यात्रु छतमा थिए। २१ वर्षीय विक्रम महतोले चलाएको उक्त बस भत्किएको बाँदरमुढे पुललाई एकापट्टि पारेर खोलाको सुक्खा तटमा ओर्लिनासाथ विद्युतीय धरापमा परेको थियो।

गाडीको छतमा तीनजना बर्दीधारी सैनिक बसेका थिए, बाँकी सबै सर्वसाधारण थिए। त्यतिबेला चितवनका जिल्ला इन्चार्ज अविनाश (घनश्याम दाहाल) र सेक्रेटरी इन्द्रजित (यमबहादुर परियार) ले गलत आँकलन गरी विस्फोट गराएको माओवादीले समेत स्वीकार गर्दै आएको छ।

गुडिरहेको गाडीमा विस्फोट गराएर एक-दुई जनाको मात्र सफाया गर्ने र बाँकी सकुशल रहने प्रविधिको विकास संसारमा कहीँ नभएकाले त्यसलाई स्वीकार गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन माओवादीले सहयोग गर्नुपर्ने तर्क मानवअधिकारवादीले गर्दै आएका छन्। हतियार बोकेकै भए पनि दोहोरो भिडन्तमा नरहेका व्यक्तिलाई हत्या गर्न नपाइने अन्तर्राष्ट्रिय कानुन विपरीत माडीमा बम विस्फोट गराइएकाले दोषीले उन्मुक्ति पाउन नहुने अधिकारकर्मीहरुको तर्क छ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार