पौडिएरै प्रशान्त महासागर पार गर्दै फ्रान्सेली पौडीबाज

दैनिक ८ घन्टा पौडिन ८ हजार क्यालोरी खानाको व्यवस्था

Nepal Live

टोकियो– संसारकै सबैभन्दा ठूलो महासागर प्रशान्त महासागर पोडिएर पार गर्ने उद्देयका साथ एक फ्रान्सेली पौडीबाजले आफ्नो पौडीयात्रा सुरु गरेका छन्।

आज जापानको चोसीबाट आफ्नो यात्रा सुरु गरेका ५१ वर्षीय पौडीबाज बेन लेकोम्टले प्रशान्त महासागर पार गर्दै आगामी ६ महिनामा अमेरिकाको वेस्ट कोस्टमा पुग्ने लक्ष लिएका छन्। जसका लागि उनले दैनिक ८ घन्टाका दरले सागरमा पोडिने बताएका छन्।

यात्राका क्रममा उनले खतरनाक माछाहरु सार्क, स्टोर्म, जेलिफिस तथा न्युन तापक्रमलाई झेल्नुपर्ने भएकोले कठिन मानिएको छ। उनले भने,‘मेरो यो यात्राले मौसममा लगातार परिवर्तन आइरहेकोले सावधानी अपनाउन जरुरी भएको चेतना दिनेमा आशावादी छु।’

उनीसँगै वैज्ञानिकहरुको एक टोलीले पनि अनुसन्धानका लागि ९ हजार किलोमिटरको दुरी सँगै यात्रा गर्ने बताइएको छ। सो क्रममा वैज्ञानिकहरुले समुन्द्रमा थुप्रिएका प्लाष्टिकजन्य फोहर, उच्च कसरतको समयमा मुटुमा पर्ने असर तथा सुनामीका कारण जापानको फुकुसिमा आणविक केन्द्रमा भएको क्षतिले समुन्द्रमा पारेको प्रभावलाई अध्ययन गर्ने छ।

अमेरिकी नागरिक लेकोम्टले यस यात्राका लागि आफूले पछिल्लो ६ वर्षदेखि तयारी गरेको बताए। ‘यात्राको तयारीस्वरुप पछिल्लो ६ वर्षदेखि प्रत्येक दिन केही घन्टा लगातार पानीमा पौडी खेल्ने गरेको छु। मानसिक रुपमा तयार रहेको/नरहेको थाहा पाउन दृश्य तथा संवेदनशील अवस्थामा कसरी अगाडी बढ्ने भन्ने सम्बन्धमा गरिने अभ्यासहरु गरिहेको छु।’, उनले भने।

यस्ता कार्यका लागि शारिरिकभन्दा मानसिक स्वास्थ्य बढी महत्वपूर्ण हुने बताउँदै उनले भने, ‘तपाईं यो कुरामा ढुक्क हुनुपर्छ कि हरेक अवस्थालाई सकारात्मक दृष्टिकोणले मात्रै हेर्नेछु। यदि कुनै अवस्थामा तपाईंको दिमागले केही पनि सोच्न नसक्ने अवस्था आयो भने बिस्तारै अव समस्या उत्पन्न हुन थालेको बुझ्नुपर्छ।’

यसअघि पहिलोपटक उनले आन्ध्र महासागरको ६ हजार ४ सय किलोमिटर लामो यात्रा पोडिएर पार गरिसकेका छन्। सन् १९९८ मा उनले ७३ दिन लगाएर उक्त दुरी पार गरेका थिए। फ्रान्सको ड्राइल्यान्डमा सो यात्रा पुरा गर्ने बित्तिकै उनले ‘फेरी सकिँदैन’ भन्ने पहिलो अभिव्यक्ति दिएका थिए। तर उनले नयाँ चुनौती आत्मसाथ गर्दै प्रशान्त महासागरको यात्रा थालेका हुन्।

‘आन्ध्र महासागरको यात्रा सकिएपछि मेरो मानसिकतामा परिवर्तन हुन धेरै समय लागेन।’, यात्राको सोचका सम्बन्धमा जानकारी दिँदै उनले थपे, ‘करिब ३/४ महिनापछि नै अर्को रोमाञ्चाक तर उस्तै यात्रा गर्ने सोच पलायो।’

यस यात्राभरका लागि उनको दैनिकी समान हुने बताइएको छ। उनले दैनिक ८ घन्टा पौडिने र बाँकी समय सहयोगका लागि सँगै रहने डुंगामा खाना खाने र आराम गर्नेछन्। त्यसपछि पुनः अर्को दिनको यात्रा थाल्नेछन्। यात्राका क्रममा शरिरमा शक्तिको तहलाई उच्च राख्न दिनमा करिब ८ हजार क्यालोरी बराबरको खानाको व्यवस्था गरिने छ।

उनको सहयोगका लागि जाने डुंगामा ‘जिपिएस ट्र्याकर’ जोडिने र पौडीबाज लेकोम्टको वेवसाइटमा गएर उनको यात्राको अवस्थाको बारेमा जानकारी लिन सकिनेछ।

पौडीबाज बेन लेकोम्टले प्रशान्त महासागरको यात्रा पार गरेमा सो यात्रा पौडिएर हालसम्मकै सबैभन्दा लामो दुरी तय गरिएको यात्रा बन्नेछ।
 

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार

अन्य समाचार पढ्नुहोस्