काठमाडौं- प्रधानमन्त्री केपी ओलीले 'एक नेपाली एक फलफूलको बिरुवा' अभियानको शुभारम्भ गरेका छन्।
विश्व वातावरण दिवसका अवसरमा सिंहदरबार परिसरभित्र लिची र एभोकाडोको बिरुवा रोपी उनले अभियानको सुरुवात गरेका हुन्। त्यस अवसरमा उनले सबैलाई यो अभियानमा साथ दिन पनि आह्वान गरे।
मुलुकको आयआर्जनको समेत भरपर्दो माध्यम भएकाले फलफूलका बिरुवा रोप्ने कामलाई सरकारले अभियानको रुपमा अघि बढाएको प्रधानमन्त्री ओलीले स्पष्ट पारे। 'फलफूल मानव स्वास्थ्यका लागि पनि उत्तिकै महत्वपूर्ण छ,' उनले भने। अभियान अन्तर्गत आज मात्रै एक लाखभन्दा बढी फलफूलको विरुवा रोप्ने सरकारको योजना छ। प्रधानमन्त्री ओलीले यो अभियान वर्षभरि सञ्चालन गरेर करोडौं फलफूलको बिरुवा रोप्ने लक्ष्य लिइएको बताए।
प्रधानमन्त्री ओलीसहित उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, अर्थमन्त्री युवराज खतिवडा, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत लगायतका मन्त्रीहरुले सिंहदरबारमा विभिन्न जातका फलफूलका बिरुवा रोपेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।