लुम्बिनी- बुद्ध जन्मस्थल लुम्बिनीमा यस आर्थिक वर्षभित्र ५ हजार फलफूलका बिरुवा लगाउने कार्यको थालनी गरिएको छ।
आउँदो असार मसान्तभित्र ५ हजार फलफूलका विरुवा लगाउने अभियान अनुसार आज २ सय वटा विभिन्न जातका आँपका बिरुवा रोपिएको छ। विश्व बातावरण दिवसको अवसरमा लुम्बिनीलाई फलफूल तथा हरियाली क्षेत्रको रुपमा विकास गर्न वृक्षारोपण कार्यको थालनी गरिएको लुम्बिनी विकास कोषले जनाएको छ।
लुम्बिनी गुरुयोजना क्षेत्र अन्तर्गत न्यु लुम्बिनी ग्राम क्षेत्रको हरियाली क्षेत्रमा उक्त फलफूलका बिरुवा रोपिएको हो। बिरुवाको संरक्षणका लागि बिरुवा लगाइएको क्षेत्र वरिपरि तारबार लगाइएको छ भने रेखदेख र संरक्षणका लागि आवश्यक कर्मचारीको व्यवस्थापनसमेत गरिएको कोषका लेखा अधिकृत भीमबहादुर बस्नेतले जानकारी दिए।
लुम्बिनीमा आयोजित २५६२औं बुद्ध जयन्ती एवं लुम्बिनी दिवस २०७५ लाई सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओली र ५ नम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले लुम्बिनीमा अन्य बिरुवाको सट्टा फलफूलका बिरुवा लगाउन सुझाव दिएपछि कोषले पनि त्यही अनुरुप फलफूलका बिरुवालाई प्राथमिकतामा राखेर रोपिएको कोषले जनाएको छ।
लेखा अधिकृत बस्नेतका अनुसार लुम्बिनी गुरुयोजनाभित्र ६० प्रतिशत हरियाली क्षेत्र रहनुपर्ने प्रावधान रहेको छ। अन्य बिरुवाको सट्टा फलफूलका बिरुवा लगाउन सके भविष्यमा कोषको आम्दानी बढ्नुका साथै लुम्बिनीको सुन्दरतामा समेत महत्वपूर्ण टेवा पुग्ने भएकाले पनि फलफूलको बिरुवा लगाउनतर्फ कोष अग्रसर देखिएको उनको बुझाइ छ।
विश्व वातावरण दिवसको अवसर पारेर सुरु गरिएको अभियानमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मनत्रालयका सचिव कृष्णप्रसाद देवकोटा, रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदय राना मगर, राष्ट्रियसभा सांसद दुर्गा उपाध्याय, प्रदेश सांसद फकरुद्दिन खाँन, लुम्बिनी सांस्कृतिक नगरपालिका प्रमुख मनमोहन चौधरी, लुम्बिनी विकास कोषका पदाधिकारी एवम् कर्मचारी, विभिन्न संघ संस्थाका प्रतिनिधि गरी २ सय जनाको सहभागिता रहेको थियो। सहभागी सबैले एकएक वटा आँपका बिरुवा लगाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।