काठमाडौँ- देशमा भाषा तथा साहित्य, कला र नाटक तथा संगीत विधाको विकासका लागि तीन प्रतिष्ठानलाई स्वायत्त नै राख्नुपर्नेमा जोड दिइएको छ। नेपाल लतिलकला पत्रकार 8ले आयोजना गरेको अन्तक्रियामा सहभागी वक्ताले फरकफरक विधाको सूक्ष्मरुपमा अध्ययन तथा अनुसन्धानका लागि ती संस्थालाई एकीकरण गर्न नहुने सुझाएका हुन्।
सरकारले बजेट सार्वजनिक गर्दा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान र नेपाल नाट्य तथा संगीत प्रज्ञा–प्रतिष्ठानलाई एकीकरण गरी खर्च मितव्ययी गर्ने जनाएको थियो।
नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति रागिनी उपाध्यायले ती संस्थाको स्वायत्तताका लागि तीन वटै प्रतिष्ठानका पदाधिकारीकाबीच सहमति रहेको बताउँदै आफूहरुले सामूहिक रुपमा प्रधानमन्त्रीलाई भेटेर त्यसको महत्वका विषयमा चाँडो जानकारी गराउने बताइन्।
जनसांस्कृतिक महासंघका अध्यक्षद्वय खगेन्द्र राई र सरल सहयात्रीले ती संगठनको आफ्नै विशेषता रहेको भए पनि देशभर सशक्त तथा प्रभावकारीरुपमा कार्य गर्न नसकेकाले सरकारले गरेको एकीकरणको निर्णयलाई सकारात्मकरुपमा लिनुपर्नेमा जोड दिए।
वरिष्ठ कलाकार नरेन्द्रबहादुर श्रेष्ठ, नेपाल सांस्कृतिक संघका अध्यक्ष तीर्थ थापा लगायतले कार्यक्रम र उद्देश्य नै एकापसमा फरक रहेको हुँदा संस्थालाई सैद्धान्तिक र व्यावहारिक रुपमा अलग राखेर सशक्त बनाउनुपर्ने बताउँदै त्यसका लागि सरोकारी पक्षकाबीच एकताको खाँचो रहेको बताए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।