रसुवा– रसुवाको नौकुण्ड गाउँपालिकाका एकै परिवारका ८ जना दाजुभाइले गाउँपालिका र प्रहरी चौकीलाई निःशुल्क जग्गा उपलब्ध गराएका छन्।
जिल्लाको नौकुण्ड गाउँपालिका ३ पारच्याङका एकै परिवारका दाजुभाइ कालु घले, कामी घले, हर्क घले, मेन्दो घले, मेम्बा घले, ल्हाचुन घले र काजी घले र दमैले गाउँपालिकालाई ५ रोपनी र प्रहरी चौकीका लागि ३ रोपनी जग्गा निःशुल्क उपलब्ध गराएको नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष सिर्जना लामाले बताइन्।
उनीहरुले उपलब्ध गराएकोे जग्गाको मूल्य करिब दुई करोड ५६ लाख पर्ने बताइएको छ। प्रहरी चौकीलाई ९६ लाख बराबरको र गाउँपालिकालाई एक करोड ६० लाख बराबरको जग्गा दिएको उनीहरुले बताएका छन्।
जग्गा अभावका कारण गाउँपालिकाले भवन बनाउन नसकेकाले आफूहरुले जग्गा उपलब्ध गराएको जग्गादाता हर्क घलेले बताए।
जग्गादाताले जग्गा उपलब्ध गराएसँगै अब भवन निर्माणको प्रक्रिया अघि बढाउने गाउँपालिकाका उपाध्यक्ष लामाले बताइन्।
जग्गा दानका लागि तीन दिनदेखि सदरमुकाम
नौकुण्ड गाउँपालिका र प्रहरी चौकीलाई जग्गा दान गर्न ७३ वर्षीय मेन्दो घले तीन दिनदेखि सदरमुकाम धुन्चेमा थिए। जेठ १९ गतेदेखि धुन्चेमा बसेका उनी जग्गाको लालपुर्जा हस्तान्तरण गर्दा हर्षित देखिन्थे।
उनी भन्छन्, ‘यसअघि गाउँका लागि केही गर्न सकिएको थिएन, अहिले थोरै भए पनि सेवा गर्ने मौका पायौं, एकदमै खुसी छौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।