भारत र पाकिस्तानबीच जारी द्वन्द्वको समाधान खोज्न काठमाडौंमा 'ट्र्याक टु डिप्लोमेसी'

Nepal Live

तस्बिरः निमेष जंग राई


काठमाडौं– भारत र पाकिस्तानबीचको द्वन्द्व अन्त्य गर्न काठमाडौंमा 'ट्र्याक टु' कूटनीतिक पहल भइरहेको छ। यसका लागि दुवै देशका गरी झन्डै ४० जना काठमाडौंमा छलफल गरिरहेको भारतीय पक्षका एक सहभागीले जानकारी दिएका छन्।

'अहिले भारत र पाकिस्तानको 'ट्र्याक टु' चलिरहेको छ', भारतीय सेनाका पूर्व जनरल अशोक मेहताले नेपाल लाइभसँग कुरा गर्दै भने, 'हामीले दुई दिनको कार्यक्रम सकिसकेका छौं। सोमबारको कार्यक्रम बाँकी छ।'

भारत र पाकिस्तानबीच सीमामा तनाव देखिएको छ, त्यसलाई कसरी घटाउने भन्नेबारे पहल गर्न काठमाडौंमा ट्र्याक टु पहल भइरहेको मेहताले जानकारी दिए।

दुई देशबीच औपचारिक सम्बन्धमा असमझदारी देखिँदा वा बिग्रिएका बेला गैरसरकारी, अनौपचारिक छलफल र सम्पर्क मार्फत सम्बन्ध सुधारमा गरिने पहललाई ट्र्याक टु कूटनीति भनिन्छ। यस्ता पहल व्यक्ति वा समूहले गर्न सक्छन्। 

आइतबार साँझ काठमाडौंको होटल हायतमा कुरा गर्दै मेहताले भने– 'यहाँ पाकिस्तानीहरु पनि बसेका छन्। १५ देखि २० जना पाकिस्तानीहरु आएका छन्। २० जना भारततिरबाट पनि आएका छौं। हामीले यहाँ भेटवार्ता गरिरहेका छौं।'

उनले वर्षमा दुई-तीन पटक यसरी भेटवार्ता हुने गरेको समेत जानकारी दिए। 'मुख्यगरी सीमाको तनाव कम गर्ने र युद्ध कसरी अन्त्य गर्ने भन्नेबारेमा यहाँ छलफल हुन्छ', उनले भने।

नेपालमा १० वर्षको 'जनयुद्ध' अन्त्य भएर शान्ति आएकाले यो ठाउँ शान्तिवार्ताका लागि उपयोगी र 'मोडल' समेत भएकाले यो ठाउँ रोजिएको मेहताले बताए। भारत र पाकिस्तानबीचको समस्या समाधान गर्न पनि यो वातावरण उपयोगी भएको उनले थपे।

'शान्तितर्फको नेपालको रुपान्तरण संसारकै लागि 'मोडल' हो', उनले भने, 'भारत र पाकिस्तानबीच पनि यस्तै भए कति राम्रो हुन्थ्यो होला!'

मेहतासँग नेपाल-भारत सम्बन्धका विविध आयाममाथि नेपाल लाइभले लिएको विस्तृत अन्तर्वार्ता आजै साँझ प्रकाशित हुनेछ।

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार