फलेवास, पर्वत- अपांग बालिका र युवतीलाई जबर्जस्ती करणी गरेको आरोपमा प्रहरीले दुई युवालाई पक्राउ गरेको छ।
पर्वतको कुस्मा बजारस्थित माझमेलाको जंगलमा लगेर युवतीलाई जबर्जस्ती गर्ने एक युवालाई प्रहरीले पक्राउ गरेको हो भने पर्वतको जलजला गाउँपालिकामा एक अपांग बालिकालाई जबर्जस्ती करणीको प्रयास गर्ने युवा पनि पक्राउ परेका हुन्।
म्याग्दी जिल्लाको साविक मल्कावाङ गाविस–१ स्थायी भई पर्वतको कुश्मा नगरपालिका–१ सहस्रधारा बस्ने २६ वर्षीय मंगले भन्ने अनिल विक पक्राउ परेका हुन्। विकले शुक्रबार राति १० बजे कुश्मा नगरपालिका–४ स्थित मांझमेला भन्ने स्थानको सामुदायिक जंगलको खाली ठाउँमा लगेर १७ वर्षीया युवतीलाई जबर्जस्ती करणी गरेको प्रहरी नायब उपरीक्षक दिलीप घिमिरेले जानकारी दिए।
घटनास्थल जिल्ला प्रहरी कार्यालय पर्वतबाट ५ सय मिटरको दुरीमा पर्छ। पीडित युवतीलाई तत्कालै जिल्ला प्रहरी कार्यालय पर्वतबाट खटिएको प्रहरी टोलीले उद्धार गरेको थियो भने पीडकलाई पक्राउ गरी प्रारम्भिक अनुसन्धानका लागि पर्वत जिल्ला अदालतबाट म्याद थप गरिएको छ।
यसैगरी जलजला गाउँपालिका–७ का २० वर्षीय बाबुराम परियारलाई पनि १३ वर्षीया अपांग बालिकालाई जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पक्राउ गरिएको हो। परियारले आइतबार बिहान १० बजेको समयमा पीडित बालिकाको घरमै पुगेर जबर्जस्ती करणीको प्रयास गरेका थिए। त्यति नै बेला पीडितकी आमाले देखेपछि उद्धार गरेर प्रहरीमा खबर गरेकी थिइन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।