नेपालगञ्ज– तेस्रो नेपालगञ्ज गोल्डकपको तयारी पूरा भएको छ। आयोजक बाँके जिल्ला फुटबल संघले खजुरास्थित नेपाल राष्ट्रिय आदर्श निमावि, डीगाउँको खेल मैदानमै पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।
प्रतियोगितामा नेपालगञ्ज–११, सशस्त्र प्रहरी बल, लाल रुपन्देही–११, सुदूरपश्चिम–११, सरस्वती क्लव र सिएमजी संकटा क्लबले तेस्रो नेपालगञ्ज गोल्डकपमा सहभागिता जनाउँदैछन्।
प्रतियोगिताको उद्घाटन खेल नेपालगञ्ज–११ र सशस्त्र प्रहरी बलका बीचमा हुने आयोजक बाँके जिल्ला फुटबल संघका अध्यक्ष भोजाराज शाहीले बताए।
नेपालगञ्ज रंगशालामा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको तयारी अन्तर्गत मर्मत सम्भार भइरहेका कारण गोल्डकप खजुरामा हुन लागेको हो।
न्यु डाँफे क्लवले ठुल्ठूला प्रतियोगिता गरिरहेको मैदान भएकाले नेपालगञ्ज रंगशालाको विकल्प डीगाउँको मैदान भएको आयोजकले बताए।
एन्फाका सदस्य प्रदेशसिंह राठौरले खजुरा क्षेत्रमा फुटबल गराउँदा दर्शकको कमी नहुने बताए।
वडाध्यक्ष एवं न्यु डाँफे क्लबका अध्यक्ष तीलकबीर सुनारले रातदिन खटेर मैदानलाई राम्रो बनाएको बताउँदै गोल्डकप हेर्न सयौंको संख्यामा फुटबल प्रेमीहरु खेल मैदानमा आउने बताए।
एपिएफका प्रशिक्षक सुदीप श्रेष्ठले सिनियर र जुनियर खेलाडी मिलाएर टोली ल्याएको जनाएका छन्। एपिएफको धेरै सिनियर खेलाडी नुवाकोटमा जारी गोल्डकप खेलिरहेका छन्। ‘खेलाडीहरु मिलाएर ल्याएका छौं,’ श्रेष्ठले भने, ‘हामी अगाडि जान सक्छौं।’
नेपालगञ्ज–११ ले पनि ए डिभिजन खेलेका खेलाडीहरु ल्याएको छ। व्यवस्थापक गान्धी हमालले मनाङबाट खेल्ने केही खेलाडी ल्याएको बताए। ‘टिम बनाउने कोसिस गरेका छौं। पहिलो र दोस्रो भन्दा यसपालि आशा पनि धेरै गरेका छौं,’ व्यवस्थापक हमालले भने, ‘अन्तिमसम्म पुग्ने लक्ष्य छ।’
प्रतियोगिताको उद्घाटन खेल सोमबार ४ बजे हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।