काठमाडौं– फिल्म ‘सय कडा दश’ बाट डेब्यु गर्दै गरेकी नव अभिनेत्री हुन् सोनिया राई। राई भन्नासाथ नेपालको पूर्वी पहाडी जिल्लातिर बाट आएकी रहेछिन् भन्ने लाग्ला। तर, उनी बर्मामा जन्मिएकी हुन्। सोनिया नेपाली नभई नेपाली मूलकी बर्मेली हुन्।
बर्माको सुन्दर सहर म्याउँम्याउँको याक्यजिसकोमा गोखार्ली सेनाको परिवारमा जन्मिएकी हुन् उनी। हाल थाइल्यान्ड बस्दै आएकी सोनिया यतिबेला फिल्म ‘सय कडा दश’को छायांकनका लागि नेपालमा ब्यस्त छिन्।
‘प्रेम गीत’का दुई सिक्वेलबाट निर्देशकका रुपमा सफल दरिएका रामशरण पाठकले सोनियालाई थाइल्यान्डदेखि नेपाली फिल्मी क्षेत्रमा प्रवेश गराएका हुन्। पाठकको निर्देशनमा बनिरहेको फिल्मबाट नेपाली फिल्म क्षेत्रमा डेब्यु गर्न पाउँदा खुसी लागेको बताउँछिन् सोनिया।
बर्मा र थाइल्याडको रहनसहन, पढाइ र उतैको वातावरणमा हुर्किएकी सोनिया नेपाली र नेपालप्रति मोहित छिन्। उनले नेपाली फिल्ममा अभिनय गर्न पाउनु गर्वको कुरा भएको बताइन्।
आफ्नो अभिनयमा बनिरहेको फिल्मप्रति पनि उनी आशावादी छिन्। भन्छिन्, ‘फिल्मप्रति म निकै आशावादी छु, मिहिनेत गरेर काम गरिरहेका छौं, पक्कै सफल हुन्छौं।’
बर्मा र थाइल्यान्डमा नेपाली समुदायकै विविध कार्यक्रममा स्टेजमा प्रस्तुति दिँदै आएकी सोनियाले त्यसबाट पाएको वाहवाही र सफलतासँगै अभिनयको सपना देख्न थालेकी थिइन्। अन्नतः उनका लागि ‘सय कडा दश’ त्यही सपना पूरा गर्ने माध्यम बनेर आइपुगेको छ। आफू कति सफल हुने र नेपाली फिल्ममा भविष्य कस्तो बन्नेछ भन्ने आधार यही फिल्मको रिलिजपछि तय हुने उनले ठानेकी छिन्।
बर्मा र थाइल्यान्डमा रहँदा अभिनयका अफरहरुलाई नकार्दै आएकी आफूले निर्देशक रामशरण पाठक र थाई नेपाली संघका अध्यक्ष कुमार कार्कीले राखेको प्रस्तावलाई भने ‘नाइ’ भन्न नसकेको बताउँछिन्। नेपाली 8, 8भित्रका विकृति र विविध विषय समेटिएको फिल्मको स्क्रिप्ट सुनेर आबद्ध भएको बताउने सोनिया फिल्ममा आफूले निर्वाह गर्न पाएको भूमिका बाट पनि मख्ख छिन्। अन्य अभिनेत्रीसँग दाँजिन नचाहने सोनिया जुनसुकै काम गरे पनि मिहिनेतका साथ गर्ने बताउँछिन्।
आगामि दिनमा पनि नेपाली फिल्मका लागि अफर आएमा, फिल्मको कथा चित्त बुझेमा र परिवारिक समर्थन मिलेमा नेपाली चलचित्र यात्रामा आफूलाई निरन्तर हिँडाउन कोसिस गर्ने उनको योजना छ। त्यसो त, पुनः रामशरण पाठककै टिमले अफर गरेमा कुनै बाहना नगरी अभियन गर्ने बताउँछिन् उनी।
भाषिक र सांस्कृतिक रुपमा एकै भए पनि नेपाल र नेपालीसँग घुलमिल नगरेकी सोनियाले फिल्म सुटिङका क्रममा धेरै कुरा सिकेको बताइन्। भनिन्, ‘यहाँ सबैले बोलेजस्तो नेपाली बोल्न थोरै समस्या परेको छ। तर, सिक्दै गएकी छु। सुटिङका क्रममा धेरै कुरा सिक्ने मौका मिलेको छ। सबै सहयोगी हुनुहुन्छ। तपाईंहरु जस्तै बोल्न सकुँ, यसको अभ्यासमा छु, पक्कै पनि सकिहाल्छु नि होइन र?’
सोनिया थाइल्यान्डबाट फिल्ममा अभिनयका लागि एक्लै आएकी होइनन्, आमा लिलावती पनि उनीसँगै छिन्। हुर्किएका छोरीचेलीलाई एक्लै छोड्न हुन्न, बिहे नहुन्जेलसम्म अविभावकको साथ र सहयोग चाहिन्छ भन्ने सोचकै कारण सोनियाको कामलाई हौसला दिन र साथी बन्न आमा लिलावती पनि नेपालमा सँगै बसेकी छिन्। सोनिया पनि आमाको माया र साथले आफूमा अझ धेरै काम गर्ने हौसला मिलेको बताउँछिन्।
‘सय कडा दश’को सुटिङ सकिएपछि पुनः थाइल्यान्ड नै फर्किने बताउँदै सेनियाले भनिन्, ‘थाइल्यान्डमा काम पनि गरिरहेकी छु। अब फिल्मी करियरलाई अघि बढाउन कुनै व्यवसायमा संलग्न हुने योजना छ। अरुको काम गरेर अभिनयको करियर अघि बढाउन गाह्रो हुने देखिरहेकी छु, त्यसैले थाइल्यान्डमै केही व्यवसाय गर्ने योजना छ।’
जीवनसाथी र विवाहको विषयमा त्यति नखुलेकी सोनियाले ‘नेपालमै बिहे सम्भव छ?’ भन्ने प्रश्नबारे भनिन्, ‘भनेर कहाँ हुन्छ, भाग्यको कुरा। नेपालमै पनि हुन सक्छ। अरुतिर पनि हुन सक्छ। तर, अहिले करियर बनाउने समय भएर होला त्यतातिर सोचेकै छैन।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।