एजेन्सी- महिला अधिकारका लागि विश्वका विभिन्न देशमा विभिन्न समयमा आन्दोलन भए। तर, राजनीतिक रुपमा महिलाको सहभागिता उल्लेख्य रुपमा बढ्न सकेको छैन। करिब शताब्दी लामो महिला आन्दोलनको इतिहास बोकेको अमेरिकादेखि विश्वकै ठूलो लोकतन्त्रका संसद्मा पनि महिला सहभागिता ३० प्रतिशत पुगेको छैन। बरु चर्चामा नआउने केही देशमा महिला सहभागिता ५० प्रतिशतभन्दा पनि बढी छ।
विश्वका विभिन्न देशका संसद्सँग सहकार्य गर्ने अन्तर्राष्ट्रिय संस्था इन्टर पार्लियामेन्टरी युनियनले गत सेप्टेम्बर १ मा राखेको तथ्याङ्क अनुसार रूवान्डाको संसद्मा सबैभन्दा बढी महिला प्रतिनिधि छन्। रूवान्डाको तल्लो सदनको ८० सिटमा ४९ जना महिला छन्। प्रतिशतका हिसाबले महिला प्रतिनिधित्व ६१ दशमलब ३ प्रतिशत हुन आउँछ। त्यहाँको माथिल्लो सदनको २६ सिटमध्ये १० मा महिलाको प्रतिनिधित्व छ। प्रतिशतका हिसाबले त्यहाँको माथिल्लो सदनमा ३८ दशमलव ५ प्रतिशत महिला छन्।
सदनमा महिला सहभागिताको आधारमा ५३ दशमलव २ प्रतिशत महिला सहभागिता सहित क्युबा दोस्रो नम्बरमा छ। त्यहाँको ६ सय ५ सिटमध्ये २ सय २२ सिटमा महिला प्रतिनिधि छन्।
बोलिभियाको माथिल्लो सदनमा पनि ५३ दशमलव १ प्रतिशत महिला सहभागिता छ। त्यहाँको तल्लो सदनको १ सय ३० सिटमध्ये ६९ सिटमा महिला प्रतिनिधि छन्। माथिल्लो सदनको ३६ सिटमध्ये १७ सिटमा महिला छन्, जुन ४७ दशमलव २ प्रतिशत हुन आउँछ।
क्यारेबियन राष्ट्र ग्रेनेडाको १५ सदस्यीय तल्लो सदनमा ७ महिला छन् भने १३ सदस्य रहेको माथिल्लो सदनमा ४ महिला छन्। क्रमशः ४६ दशमलब ७ र ३० दशमलव ८ प्रतिशत महिला प्रतिनिधिसहित ग्रेनेडा चौथो स्थानमा छ।
नामिबियाको १०४ सदस्य रहेको तल्लो सदनमा ४८ सिट महिलाको मात्रै छ भने माथिल्लो सदनको ४१ सिटमध्ये १० मा महिला छन्। प्रतिशतका हिसावले पनि त्यहाँको तल्लो सदनमा ४६ दशमलव २ र माथिल्लो सदनमा २४ दशमलब ४ प्रतिशत महिला प्रतिनिधित्व छ र महिलाको उपस्थितिको आधारमा नामिबिया पाँचौ स्थानमा छ। स्विडेनमा संसद्को ३ सय ४९ सिटमध्ये १ सय ५२ मा महिला प्रतिनिधि छन्।
इजिप्टको संसद्
जर्मनीमा चान्सलरको भूमिकामा महिला भए पनि संसद्मा महिलाको संख्याको आधारमा यो राष्ट्र शीर्ष १० को सूचीमा आउन सकेको छैन। त्यहाँको तल्लो संसद्मा ७ सय ९ सिटमध्ये २ सय १८ सिटमा मात्रै महिला छन्। प्रतिशतका हिसाबले यो ३० दशमलव ७ हो। त्यस्तै, ६९ सदस्य रहेको माथिल्लो सदनमा २७ महिला प्रतिनिधि छन्। जुन ३९ दशमलब १ प्रतिशत हो। संसारका १ सय ८९ राष्ट्रमध्ये महिला सहभागिताका हिसाबले जर्मनी ४७औं स्थानमा छ।
संसद्मा महिला सहभागिताको तुलना गर्दा पहिलो संविधानसभामा नेपाल १८८ राष्ट्र मध्ये २४औं स्थानमा थियो। संविधानसभा विघठन हुनेबेला कायम कुल ५ सय ९४ सभासदमध्ये १ सय ९७ जना महिला थिए। यो हिसाबमा नेपालको संसद्मा ३३ दशमलव २ प्रतिशत महिला सहभागिता थियो।
अहिले संघीयता कार्यान्वयन भएदेखि नेपालमा दुई सदनात्मक व्यवस्था सुरु भएको छ। जसमा तल्लो सदनको कुल २ सय ७५ सिटमा ३२ दशमलव ७ प्रतिशत अर्थात् ९० महिला प्रतिनिधि छन् भने माथिल्लो सदन राष्ट्रियसभाको ५९ सिटमध्ये २२ मा महिला छन् अर्थात ३७ दशमलव ३ प्रतिशत महिला माथिल्लो सदनमा छन्। योसँगै नेपाल महिला सहभागिताको आधारमा विश्वको ३७औं स्थानमा पर्छ।
विश्वको दोश्रो ठूलो अर्थतन्त्र चीन पनि संसद्मा महिला सहभागिताको आधारमा ७२औं स्थानमा पर्न आउँछ। त्यहाँको संसद्मा कुल २ हजार ९ सय ८० सदस्य रहे पनि ७ सय ४२ मात्रै महिला छन्। प्रतिशतका हिसावले चीनको संसद्मा २४ दशमलव ९ प्रतिशत महिला छन्।
संसद्मा महिला सहभागिताको हिसावमा नाम नचेलेका राष्ट्र अगाडि आए पनि अमेरिका भने १०३औं स्थानमा छ। त्यहाँको तल्लो सदन हाउस अफ रिप्रेजेन्टेटिभमा ४ सय २७ सिटमध्ये जम्मा ८३ महिला छन्। त्यसैगरी, सिनेटका १ सय सिटमध्ये २३ जना मात्रै महिला छन्। प्रतिशतमा हिसाब गर्दा तल्लो सदनमा १९ दशमलव ४ प्रतिशत र माथिल्लो सदनमा २३ प्रतिशत मात्र महिला सहभागिता छ।
विश्वको सबै भन्दा ठूलो लोकतन्त्र भारत पनि संसद्मा महिला सहभागिताका आधारमा १४८औं स्थानमा छ। त्यहाँको तल्लो सदन लोकसभाका ५ सय ४२ सिटमा ६४ जना मात्रै महिला छन्। जुन प्रतिशतका हिसाबमा ११ दशमलब ८ हो। त्यहाँको माथिल्लो सदन राज्यसभाको २ सय ४४ सिटमध्ये जम्मा २९ सिटमा महिला प्रतिनिधि छन्, जुन ११ दशमलव ९ प्रतिशत हुन आउँछ।
संसारका केही राष्ट्रका संसद्मा महिला सहभागिता शून्य नै छ। माइक्रोनेसिया, पलाउ, यमन र भानुआटु को संसद्मा महिला सहभागिता शून्य छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।