काठमाडौं– बलिउड फिल्म निर्माता तथा निर्देशक सुवास घई नेपाल आएका छन्। उनी आइतबार काठमाडौंको होटल अन्नपूर्णमा आयोजना हुने फिल्म मेकिङ तथा मिडिया नोइङ सेमिनारका लागि काठमाडौं आएका हुन्। उनीसँगै बलिउड फिल्मका लेखक अञ्जुम राजाबली पनि आएका छन्।
उनीहरु मैतीदेवीमा रहेको कान्तिपुर फिल्म एकेडेमीको निमन्त्रणामा नेपाल आएका हुन्।
शनिबार आयोजित पत्रकार सम्मेलनमा आयोजकले नेपाली फिल्मकर्मीलाई फिल्म निर्माण, वितरणसँगै फिल्म सम्बन्धी ज्ञानलाई प्राथमिकता दिनुपर्ने महसुस गर्दै मुम्बईको फिल्म स्कुल विस्लिङ इन्टरनेसनलसँग सहकार्य गरेर सेमिनार आयोजना गर्न लागेको जानकारी दियो।
पत्रकार सम्मेलनमा बोल्दै निर्देशक घईले नेपालमा फिल्म र कलासम्बन्धी धरै सम्भावना रहेको र यसलाई केही व्यावसायिक रुपमा बढाउन सके नेपाली फिल्मबजार पनि अन्तर्राष्ट्रिय स्तरको बन्न सक्ने बताए। यसका लागि थुप्रै फिल्म स्कुल र सेमिनारहरुको खाँचो रहेको बताए।
घईले नेपाली चेली मनीषा कोइरालालाई बलिउडमा आफूले डेब्यू गराएको पनि स्मरण गरे। सन् १९९१ मा बनेको 'सौदागर' बाट मनीषाले बलिउडमा पाइला चालेकी थिइन्।
त्यसैगरी अपहरण, राजनीति, सत्याग्रह जस्ता चर्चित फिल्मका स्क्रिप्ट लेखक अञ्जुम राजाबलीले समय समयमा आयोजना हुने यस्ता सेमिनारले अनुभव आदानप्रदान हुने र त्यसले नयाँ बन्ने फिल्महरुमा नयाँपन आउने बताए।
होटल अन्नपूर्णमा बिहान ९ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने उक्त सेमिनारले नेपाली फिल्म मेकिङलाई अझ विस्तारित बनाउने विश्वास लिएको आयोजक कान्तिपुर फिल्म एकेडेमीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।