धनगढी– जिल्ला अदालत कैलालीले बोक्सीको आरोपमा राधा चौधरीमाथि कुटपिट गर्ने तीन जनालाई दोषी ठहर गरेको छ। अन्य तीन प्रतिवादीलाई भने जिल्ला अदालतले कुटपिटमा संलग्न नभएको भन्दै सफाइ दिएको छ।
अदालतले कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलियाकी चौधरीमाथि बोक्सीको आरोपमा निर्घात कुटपिट गर्ने भोलेबाबा भनिने रामबहादुर चौधरीसहित तीन जनालाई दोषी ठहर गरेको हो।
श्रेष्तेदार इन्द्र कठायतका अनुसार भोलेबाबालाई ५ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना गर्ने फैसला जिल्ला अदालतले गरेको छ।
भोलेबाबाका सहयोगी किस्मती चौधरीलाई १ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना र स्मारिका चौधरीलाई ६ महिना कैद र २५ हजार जरिवाना गर्ने फैसला भएको छ।
जिल्ला न्यायाधीश पर्शुराम भट्टराईको एकल इजलासले भोलेबाबालाई सहयोग गरेको भन्दै पक्राउ परेका अन्य तीन जनालाई भने सफाइ दिएको छ।
अदालतले स्थानीय चनकलाल चौधरी, वेदप्रसाद चौधरी र सीतारानी चौधरी निर्दोष रहेको ठहर गरेको हो। २०७४ फागुन २४ गते बोक्सीको आरोपमा राधा चौधरीमाथि गाउँमै कुटपिट भएको थियो।
बोक्सीको आरोपमा राधा चौधरीमाथि कुटपिट गरेको भन्दै ६ जनाविरुद्ध ज्यान मार्ने उद्योग अन्तर्गत मुद्दा चलाइएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।