नुवाकोट– शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय नुवाकोटमा सब–इन्जिनियर जनताको काम गर्नुको साटो कार्यलयमै चेस खेलिरहेको अवस्थामा भेटिएका छन्।
बिहीबार सांसद नारायणप्रसाद खतिवडासहितको टोलीले गरेको कार्यालय अनुगमनका क्रममा डिभिजन कार्यालय नुवाकोटका कर्मचारी चेस खेलिरहेको अवस्थामा भेटिएका हुन्।
भूकम्पपछिको पुनःनिर्माणको काम थालेका र सम्पन्न गरिसकेका लाभग्राहीहरुले आफ्नो काम नभएको गुनासो गरिरहेका बेला भूकम्पपछिको पुनःनिर्माणको मूख्य जिम्मेवारी पाएको कार्यालयकै सब–इन्जिनियर आभाष पौडेल भने यस्तो अवस्थामा भेटिएका हुन्।
बिहिबार त्रिशुलीस्थित डिभिजन कार्यालयमा सांसदसहितको टोलीलाई चेस खेलिरहको अवस्थामा भेटिएका सब–इन्जिनियर पौडेलले खाजा समयमा मनोरञ्जन गरेको दावी गरे।
‘पछिल्लो दुई वर्षदेखि भूकम्पपीडितहरु सरकारी प्रक्रिया तथा कर्मचारीका कारण हुने गरेको ढिलासुस्तीले समस्या खेप बाध्य भएको गुनासो आइरहन्छ। तर जिम्मेवार कर्मचारी भने काम छैन भन्दै कार्यालय समयमै कार्यकक्ष भित्रै चेस खेलेर बसेका छन्।’, भूकम्पपीडितलाई कस्तो सेवा प्रदान भइरहेको छ र कामकाजको शैली कस्तो छ भनि बुझ्न पुगेका प्रतिनिधि सभा सांसद खतिवडाले निमित्त कार्यालय प्रमुख आत्मकुमार शाहसंग सोधे,‘यस्तो किन?’
कार्यालय अनुगमनकै क्रममा यस्तो अवस्था देखेपछि सब–इन्जिनियर पौडेल र उनीसँगै चेस खेलिरहेका बन्दना भगवती निर्माण सेवाका इन्जिनियरहरु मदन खत्री र निरन्जन खड्कालाई निमित्त प्रमुख शाहले स्पष्टिकरण सोधेका थिए।
तीन कार्यालयको अनुगमन
सांसद खतिवडाले बिहीबार नुवाकोटका तीन वटा सरकारी कार्यालयको अवलोकन गरेका थिए। शहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय, जिल्ला मातपोत र नापी कार्यालयको अनुमगन भएको हो।
आकस्मिक रुपमा कार्यालय प्रवेश गरेका सांसद खतिवडाले कार्यालयका सबै फाँटहरुको निरीक्षण गरी त्यहाँबाट उपलब्ध गराइँदै आएका सेवाहरुका बारेमा कर्मचारी र सेवाग्राहीहरुसँग समेत जानकारी लिएका थिए।
नागरिकहरुले ति कार्यालयमा कामजाज ढिलासुस्ती हुने गुनासो गरेका कारण अनुगमनमा पुगेको सांसद खतिवडाले बताए। उनले सेवा प्रवाहमा लापरवाही गर्ने जो कोहीले कानुन अनुसार दण्डित हुनुपर्ने स्पष्ट पारे। उनले कतिपय कार्यालयमा कर्मचारी अभावका कारण पनि समस्या रहेकाले त्यसको समाधानमा आफू क्रियाशिल हुने प्रतिवद्धता समेत जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।