काठमाडौं- अन्तिम मल्ल राजा रणजित मल्लबारे इतिहासका अध्येता योगेश राजले लेखेको उपन्यास 'रणहार' बजारमा आएको छ।
रणजितको भोगाइबाट काठमाडौं उपत्यकाको एउटा कालखण्डलाई चित्रण गरेर लेखिएको पुस्तक पब्लिकेसन्स नेपालयले प्रकाशन गरेको हो।
तत्कालीन समयमा उपत्यकाका तीन राज्यमध्ये भक्तपुरमा झन्डै आधा शताब्दी शासन गरेका रणजितले सन् १७६९ मा पृथ्वीनारायण शाहका सैन्य र चलाखीपूर्ण कदमबाट राज्य गुमाएका थिए। पुस्तक त्यही ऐतिहासिक परिघटनामा केन्द्रित छ।
पृथ्वीनारायणले उतिबेलाको सबैभन्दा शक्तिशाली र वैभवशाली राज्य भक्तपुर जितेपछि उपत्यका विजययात्रा टुंगिएको थियो। अठारौं शताब्दी सिंगो भारतीय उपमहाद्वीपकै लागि उथलपुथलको समय रहँदा लगभग सम्पूर्ण क्षेत्रमा इस्ट इन्डिया कम्पनीले कब्जा जमाइरहेको थियो। त्यही बेला यता हिमालयमुनि रहेका स-साना पर्वते राजा-रजौटा पनि आ–आफ्ना प्रभुत्व जोगाउन र बढाउन लागिपरेका थिए। त्यो बेला नेपाल खाल्डोका तीन वटै राज्य आकर्षणका केन्द्र थिए।
यस पुस्तकले त्यही कालखण्डको भक्तपुरमा सत्तासीन कुलीन वर्ग र गोर्खालीसामु तिनले गरेको आत्मसमर्पणका परिदृश्य उभ्याउँदै तत्कालीन समयको लडाइँको कथा भनेको छ।
पुस्तकले तत्कालीन राज्यका शासक र नागरिक कसरी आफूलाई एउटै मूल हाँगोबाट छुट्टिएको ठान्थे र एकै बोली बोल्थे भन्ने चर्चा पनि गरेको छ। यसका साथै राज्य गुमाइसकेपछि रणजीत मल्लले के गरे भन्ने सेरोफेरोमा पुस्तक केन्द्रित छ। पुस्तकको भाषाले पाठकलाई तत्कालीन भक्तपुर विचरणको यथार्थ अनुभूति गराउने प्रकाशन संस्थाको दाबी छ।
पब्लिकेसन्स नेपालयकी प्रमुख कार्यकारी सैजन मास्केले ऐतिहासिक विषयको उपन्यास प्रकाशन गर्न पाउँदा खुसी लागेको जनाउँदै विशिष्ट लेखन शैलीले यो महत्वपूर्ण आख्यान बनेको बताइन्।
लेखकको चाहना अनुरुप ‘रणहार’ कुनै औपचारिक कार्यक्रमबिना नै भृकुटीमण्डमा शुक्रबारदेखि आयोजना हुने ‘२२औं नेपाल अन्तर्राष्ट्रिय पुस्तक प्रदर्शनी’ को सन्दर्भमा सार्वजनिक गरिएको पब्लिकेशन्स नेपालयले जानकारी दिएको छ। पुस्तक यही शनिबारदेखि देशभरका पुस्तक पसलहरुमा उपलब्ध हुने जनाइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।