काठमाडौं- एक दशकदेखि पुस्तक प्रकाशनमा सक्रिय संस्था सांग्रिला बुक्स प्रालि भारतमा समेत विस्तार भएको छ। काठमाडौंमा मुख्य कार्यालय रहेको प्रकाशन संस्था अब 'सांग्रिला बुक्स पब्लिकेसन्स, इन्डिया'को रुपमा भारतबाट सञ्चालन हुने प्रबन्धक मणि शर्माले बताए।
भारतमा पब्लिकेसनको प्रधान कार्यालय पश्चिम बंगालस्थित सिलिगुडी, प्रधाननगरमा रहेको छ। 'नेपाल र भारतमा रहेका नेपालीभाषी लेखक तथा पाठकबीच अब दह्रो पुल बन्ने प्रयासमा छौं,' शर्माले भने, 'नेपाल र भारतमा रहेका स्रष्टा र पाठकबीचको भाषिक र सांस्कृतिक सम्बन्ध विस्तारमा पनि प्रकाशनले थप काम गर्नेछ।'
प्रधाननगरस्थित भानुभक्त समिति भवनमा रहेको कार्यालयमा बुक क्याफेसमेत सञ्चालनको तयारी गरिएको छ। जहाँ नेपाली भाषाका साथै अंग्रेजी, हिन्दी एवं बङ्गाली साहित्यका पुस्तकसमेत उपलब्ध हुनेछन्।
सांग्रिला बुक्स-इन्डियाको सिइओमा कवि, लेखक राजा पुनियानी र प्रकाशन प्रमुखमा मनोज बोगटी रहेका छन्।
सिइओ पुनियानीले भारतीय नेपाली सर्जकहरूले किताब प्रकाशनबापत कुनै संस्थाबाट रोयल्टी नपाउने अवस्था अब हट्ने बताए। ‘सांग्रिलाले इन्डियामा त्यो प्रचलन हटाएर लेखकलाई रोयल्टी उपलब्ध गराउनेछ,' उनले भने, 'यहाँ राम्रा लेखकहरु छन्। उनीहरुलाई धेरैभन्दा धेरै पाठकसामु लैजानु हाम्रो उद्देश्य हो।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।